कैलालीको घोडाघोडी नगरपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित श्रीमान र छोरासँगै आइसोलेसनमा बस्दै आएकी ती महिलामा मृत्यु भएपछि आजै कोरोना परिक्षण गरिएको थियो । मृत्युपछि स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएके घोडाघोडी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक कैलाशकुमार रावतले जानकारी दिए ।
‘रिपोर्ट नेगेटिभ आएपछि आजै शब आफन्तलाई बुझाएका छा ।’ रावतले भने, ‘ती महिलाका श्रीमान र छोरामा भने यसअघिनै कोरोना पुष्टि भएको थियो ।’ भारतको बंग्लोरबाट आएकी २४ वर्षीया ती महिला मृगौला रोगबाट पीडित थिइन । बझाङ घर भएकी श्रीमान र छोरासँगै १६ दिनअघि बैंग्लोरबाट फर्केर सुखडस्थित माइतीघर गएकी थिइन ।
गत दुई गते स्वाब संकलन गर्दा उनका श्रीमान र छोरामा कोरोना संक्रमण देखिएको थियो । त्यसबेला ती महिलामा भने कोरोना जाँच गरिएको थिएन । मृगौला रोगले सिकिस्त ती महिलाको स्याहार गर्ने कोही नभएपछि संक्रमित श्रीमान र छोरासँगै आइसोलेसनमा राखिएको थियो ।
श्रीमानमा संक्रमण देखिएपछि स्याहार गर्ने कोही नहुँदा दशरथ बालबालिका केन्द्रको आइसोलेसनमा उनलाई छुट्टै कोठामा राखिएको रावतले बताए ।