कांग्रेस कैलालीका सभापति भन्छन् ‘कि रेशम चौधरीको अपराध सावित गर, कि छोड
2020/08/26, 12:22
 
rajniti

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले कैलालीको क्षेत्र नम्बर १ टीकापुरका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई अन्याय भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अन्यायले सीमा नाघेको उल्लेख गरेका छन्।

सभापति शाहले प्रतिनिधिसभा सदस्य रेशम चौधरीको कि अपराध सावित हुनुपर्ने नभए छोड्नु पर्ने बताएका छन् । फेसबुकमा उनले लेखेका छन्– माननीय रेशम चौधरीको अपराध के हो? किन बोल्दैनन् यहाँ जिवितहरु? कि अपराध सावित गर, कि छोड, अन्यायको पनि हद हुन्छ ।’

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गएका बेला शाहको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कतिपयले शाहको यो भनाईलाई थारु समुदायलाई रिझाउने कार्डको रुपमा फालेको टिप्पणी गरेका छन्।

1

थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते टीकापुरमा हिंसा भड्किँदा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ प्रहरीको मृत्यु भएको थियो। घटनामा एक नाबालकको पनि ज्यान गएको थियो।

उक्त घटनाका मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको थियो।

टीकापुर घटनापछि फरार रहेकै अवस्थामा कैलाली १ बाट रेशम अत्यधिक मतसहित प्रतिनिधिसभामा विजयी भएका थिए।