सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६८३ पुग्यो 
2020/08/26, 8:42
 
corona

बुधवार सुदूरपश्चिम प्रदेशका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा नौँ सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २५ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढीका १५, टीकापुरका तीन र एक जना स्थानीय तह नखुलेका महिलालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन, कृष्णपुरका दुई र बेल्डाँडीका एक जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई दुई जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उप–महानगरपालिकाका एक जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जना र आलीताल गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको इन्चार्ज भूषालले जानकारी दिए । 

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको छ । ९१ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका दुवै जना अछामका हुन । अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ६ र सोही गाउँपालिका वडा नम्बर १ का एकरएक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए । 

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ८३ पुगेको छ । संक्रमण पुष्टि भएका चार हजार पाँच सय ८९ जनाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भईसकेको छ ।