कैलालीमा साढे दुई महिनाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका तीन, धनगढी, बर्दगोरीया र लम्कीचुहाका एक एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । तीन जनामा मृत्युपछि कोरोना पुष्टि भएको थियो भने तीन जनामा मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।
जेठ २४ गते कोरोना भाईरसले कैलालीमा पहिलो मृत्यु भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीमा दोस्रो मृत्यु भयो। कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो। उनलाई न्यूरो सम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।
सोही दिन कैलालीका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो । गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो। धनगढीको नवजिवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो । उनी बस व्यवसायी थिए ।
असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भए । अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै उनको मृत्यु भयो । भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा भदौ ९ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी बर्दगोरीया गाउँपालिकाका हुन् ।
भदौ १० गते मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको समयमा उनमा कोरोना पुष्टि भएकोमा त्यसपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।