गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता, कञ्चनपुरको तैनाथ
2020/08/27, 10:54
 
corona

भारतीय नाका गौरीफन्टा र त्योसंगै जोडिएको  डोकेबजार क्षेत्रमा हिजोदेखि कञ्चनपुरको सुरक्षा टोली खटिएको छ । कञ्चनपुरको भूभागमा पर्ने भएपनि डोकेबजार क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको दबाबमा हिजो कैलालीको सुरक्षा टोली त्यहाँबाट फिर्ता भएको बताईएको छ । नाका स्थापना भएदेखि नै गौरीफन्टामा सुरक्षा दिदै आएको कैलालीको सुरक्षा टोली त्यहाँ कञ्चनपुरको सुरक्षा टोली खटिएपछि फिर्ता भएको  हो । त्यहाँबाट फिर्ता भएको कैलालीको सुरक्षा टोली हिजोदेखि भन्सार कार्यालयको पछाडि पट्टिको खुला चौरमा बसेको छ । त्यही भारतबाट आउनेहरुका लागि होल्डिङ सेन्टर बनाएको छ  ।

र हिजैदेखि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कञ्चनपुरको सशस्त्र प्रहरी र प्रहरीको टोली खटिएको छ । बिगत केही समययता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले डोके बजार सीमा क्षेत्रमा खटिएको कैलालीको सुरक्षा टोलीलाई फिर्ता गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई दवाव दिदै आएका थिए ।

लकडाउन भएयता कैलालीका प्रमुख जिल्ला अधिकारीको समन्वय र प्रयासमा झण्डै अढाई लाख नेपाली गौरीफन्टा नाका भएर धनगढी भित्रिएका थिए । हिजोदेखि गौरीफन्टा नाका कञ्चनपुरको मातहतमा गएको छ ।  त्यहाँको प्रशासनिक र सुरक्षाको जिम्मेवारी पनि कञ्चनपुरको मातहतमा गएको छ ।

अहिलेसम्म गौरीफन्टा नाकामा कुनै समस्या हुदा कैलालीका प्रमुख जिल्ला अधिकारीले लखिमपुर खिरी जिल्लाका सुरक्षा अधिकारीसंग संवाद र समन्वय गरेर सबै समस्या हल गर्दै आएका थिए ।  तर अव त्यो जिम्मेवारी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको हुनेछ ।सीमामा दुई जिल्लाका सुरक्षाकर्मी  तैनाथ हुदा त्यसले आवात जावात गर्ने सर्वसाधारण र मालबाहक सवारी साधनहरुलाई भने झञ्झट हुनेछ ।

सीमामा पहिले जाँच कञ्चनपुरको सुरक्षा टोलीले गर्नेछ । र त्यहाँ निस्किएका सर्वसाधारण र मालबाहक साधनलाई पुल वारी आईसकेपछि कैलालीको सुरक्षा टोलीले पुनः जाँच गर्ने छ । दोहोरो जाँचले सर्वसाधारणहरुलाई भने सास्ती हुनेछ ।  हिजोसम्म भारतबाट आउने सर्वसाधारणहरु डोके बजारबाटै बस तथा सवारी साधनमा चढेर गन्तव्य जान पाउथे । तर  आजदेखि भने भारतबाट आउने हरेक व्यक्ति पैदल पुल तरेर भन्सार कार्यालय छेउमा स्थापना गरिएको होल्डिङ सेन्टरमा बस्नु पर्नेछ ।  

साना नानी र भारी सहित भारतबाट आउने नेपालीहरुले पैदल र चर्को घाममा पुल पार गर्नुपर्ने झञ्झट त शुरु भयो नै । लक डाउन बाहेकको अन्य समयमा दुई जिल्लाका सुरक्षा निकायको चेकजाँचको झञ्झट समेत व्यहोर्नु पर्ने भएको छ ।  भारतबाट आएका नेपालीहरुलाई डोकेबजारबाट बस तथा सवारी साधनहरुले गन्तव्य पुर्याउने गरेका थिए । आजदेखि धनगढीबाट सवारी साधनहरु डोकेबजार जान पाउने छैनन । सबै सवारी साधनहरु पुल वारी नै रोकिनेछन् ।

यसअघि भारतबाट आउने नेपालीहरुलाई डोकेबजार क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना गरी कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको समन्वय र पहलमा खाना, पानी, यातायातको व्यवस्था मिलाईएको थियो । हिजोदेखि त्यसको सम्पूर्ण जिम्मेवारी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको हुनेछ ।  हालसम्म भारतबाट आएका कुनै व्यक्तिबाट अबैध सामान तथा लागु पदार्थ भेटिएको अवस्थामा कैलालीको प्रहरीले मुद्दा चलाउथ्यो । र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कैलालीको प्रहरीले नियन्त्रणमा लिन्थ्यो । आजदेखि सीमामा कुनै अपराधिक क्रियाकलाप तथा अबैध सामान ओसारपोसार लगायतका कानुन विपरितका क्रियाकलापमा संलग्न भएको पाईएमा कञ्चनपुरको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कञ्चनपुरमै मुद्दा चलाउनेछ ।

हालसम्म  गौरीफन्टा नाकामा कैलालीको प्रहरी र सशस्त्र प्रहरीसंगै धनगढी उपमहानगरपालिकाको स्वास्थ्य टोली भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि खटिएको  थियो । अव धनगढीको स्वास्थ्य टोली त्यहाँबाट फिर्ता हुनेछ । र त्यहाँ कञ्चनपुरकै स्वास्थ्य टोली खटिने भएको छ । डोकेबजार क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिकाको मातहतमा छ । हालसम्म डोकेबजार क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य, सुरक्षा र व्यवस्थापनमा धनगढी  उपमहानगरपालिले सहयोग समन्वय गर्दै आएको थियो । तर अव त्यो जिम्मेवार पुनर्वास नगरपालिकाको हुनेछ ।

हिजोसम्म गौरीफन्टा नाकामा समस्या हुदा कैलालीका प्रमुख जिल्ला अधिकारी नाकामा पुगेर  समस्याका बारेमा जानकारी लिई  त्यसको समाधानका लागि खिरी जिल्लाका सुरक्षाअधिकारीसंग संवाद गर्थे । र हरेक पटक दोहोरो संवादबाट सबै  समस्याको सहजै समाधान निस्किएको थियो । अव गौरीफन्टा नाकामा कुनै समस्या उत्पन्न भएमा कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीले समाधान गर्नुपर्ने छ ।

पूर्ण रुपमा कैलालीमा निर्भर गौरीफन्टा नाकाको सम्पूर्ण सुरक्षा र प्रशासनिक  जिम्मेवार कञ्चनपुरले लिएपछि सीमामा आवात जावत गर्नेहरुले सास्ती खेप्नु पर्नेछ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले डोकेबजार क्षेत्र आफ्नो मातहतमा नरहेकोले त्यहाँबाट कैलालीका सुरक्षा टोली फिर्ता भएको बताए ।  गौरीफन्टा नाका र डोकेबजार सदरमुकाम महेन्द्रनगरबाट टाढा छ । टाढाबाट दृष्टि पु¥याउन हामीलाई पनि गाह्रो थियो । त्यही कारण कैलालीले त्यहाँको सुरक्षा हेर्दा हामीलाई पनि सजिलो भएको थियो, प्रजिअ खतिवडाले पश्चिम टुडेसंगको कुराकानीमा भने, तर कानुनी रुपमा त्यो हाम्रो अधिकार क्षेत्र भित्र भएकोले आफैले हेर्ने निर्णय गरेका हौ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले कैलालीका प्रमुख जिल्ला अधिकारीसंगको छलफलपछि हिजोदेखि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कञ्चनपुरबाट सुरक्षा टोली खटाएको बताए । कैलालीमा जारी गरिएको निषेधाज्ञाले डोकेबजारमा काम गरेन । त्यहाँ निषेधाज्ञा नहुदा चहल पहल यथावत रहेको र त्यसले संक्रमण फैलाउने जोखिम बढेको भन्ने गुनासो आयो । अहिलेसम्म कैलालीले हेरेपनि त्यो भूभाग कञ्चनपुरको हो, प्रजिअ खतिवडाले भने, हिजोदेखि त्यो भूभाग र नाका हामीले हेर्न थालेका छौ । कञ्चनपुरले हेर्ने कुरा स्वाभाविक हो । कुनै असमझदारी भएर होईन ।