सेती प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना अस्पतालको फोहोरजन्य पानीहरु खुल्ला रुपमा सडकमा वग्ने गरेको छ । मानव स्वास्थ्यलाई असर पार्ने फोहोरजन्य पदार्थ पानीसँगै वढ्दा यसले अझ जोखिम बढाएको छ । अन्य विरामीहरुभन्दा पर वडा प्रहरी कार्यालय अगाडी स्थापना गरिएको कोरोना अस्पतालबाट निस्किने फोहोर प्रदेशकै सामाजिक विकास मन्त्रालय भएर बढिरहँदा पनि यसतर्फ वेवास्ता गरिएको छ ।
कोरोना संक्रमितहरुलाई राख्नका लागि बनाईएको अस्पतालबाट निस्किने फोहोरले संक्रमण फैलिने खतरा वढी हुने गरेका कारण यसको सुरक्षित रुपमा नष्ट गर्नुपर्ने हो । तर कोरोना अस्पतालको फोहोर पाईप जोडेर सडकमा छोडिएको स्थानीय हेमन्त रावलले बताए । सडकमै फोहोर फालिदा पानी परेपछि ती फोहोरहरु पानीसँग सडकमा बग्ने गरेका कारण कोरोना लगायत अन्य महामारी रोगहरु फैलिने खतरा वढेको उनले बताए ।
कोरोना संक्रमितहरुको सम्पर्कमा आउँदा यो रोग सर्ने भएकोले उनीहरुलाई छुट्टै राख्ने व्यवस्था गर्नका लागि कोरोना अस्पताल निर्माण गरि सञ्चालनमा ल्याईएको थियो । तर त्यहाँको फोहोर व्यवस्थापनमा चरम लापरवाही भईरहेको अर्का स्थानीय भरत जोशीले बताए । सामाजिक विकास मन्त्रालय भएर वग्ने फोहोर नदेख्दा प्रदेश सरकारलाई यसतर्फ कुनै मतलब नरहेको भान हुने उनको भनाई छ।
कोरोना अस्पतालको फोहोर वगिरहेको सडकमै प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी लगायतका कर्मचारीहरुले सोही बाटो भएर ओहोरदोहोर गर्छन् । तर कोरोना फोहोर वगिरहेकोमा उनीहरुले कुनै वास्ता गरेका छैनन् । अझ सामाजिक विकास मन्त्रालयकै अगाडी पानी परेको एक साता हुन लाग्दा पनि खाल्डो परेर पानी जमेको छ । त्यही खाल्डोमा कोरोना अस्पतालको फोहोर पनि छ । तर पनि यसको व्यवस्थापन तर्फ वास्ता गरिएको छैन् ।
कोरोना अस्पतालकै अगाडी वडा प्रहरी कार्यालय रहेको छ भने त्यसकै छेउमा कैलाली उद्योग वाणिज्य संघ रहेको छ । त्यसको तलतिर प्रदेश आपुर्ति केन्द्र र अझ अलि तल सामाजिक विकास मन्त्रालय तथा नापी र मालपोत कार्यालय रहेको छ । तर सडकमा कोरोना अस्पतालको फोहोर फालिएको वारेमा जानकारी नभएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनले यस वारे बुझ्ने बताए ।