कैलालीसंग प्रत्यक्ष सिमा जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकामा बुधबारदेखि कञ्चनपुरकै सुरुक्षाकर्मीको टोली खटिएको छ । कञ्चनपुरको भूभागमा पर्ने गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा हिजोसम्म कैलालीको सुरक्षा टोलीले ड्युटी गर्दै आएको थियो । गौरीफन्टा नाकामा कञ्चनपुरबाट सशस्त्र प्रहरीका ईन्सपेक्टर शैलेन्द्र चैसेरको कमान्डमा खटाएको छ । सो टोली जिम्मेवारी पाएको २४ घण्टा नबित्दै विवादमा तानिएको छ ।
आर्थिक प्रलोभनमा परि सीमा नाकाबाट मिलेमतोमा धमाधम भारतीय नागरिक नेपाल प्रवेश गर्न दिइरहेको पाइएको छ । कञ्चनपुरले बुधवारदेखि आफ्नो सुरक्षा टोली तैनाथ गरेको पहिलो दिन नै रेडलेबल र आर्थिक चलखेलको भरमा अबैध रुपमा भारतीय नागरिक नेपाल भित्र्याईएको छ । त्यहाँ खटिएका शसस्त्र प्रहरीका ईन्स्पेक्टरले रेडलेबल र पैसा लिएर नेपाल प्रवेश गर्न दिएको थियो ।
धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपडा पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना सुरक्षाकर्मीहरुले नेपाल प्रवेश दिईरहेका छन् । बुधबार र बिहीबार मात्रै १० जनाभन्दा बढी भारतीय नागरिक नेपाल प्रवेश गरेका छन् । उनीहरु भारतको बरेली, पलिया, खिरी लगायतका विभिन्न स्थानबाट आएर क्वारेन्टिन नबसेरै धनगढीमा व्यवसाय गर्न थालेका छन् ।
भारतबाट आउनेहरुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाईएको छ । तर सिमामा सुरक्षाकर्मीहरुले सहजै प्रवेश दिएपछि क्वारेन्टिनमा नबसी धनगढीमा खुलेयाम घुमिरहेका छन् । यसले धनगढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढेको छ ।
बिहीबार भारतको बरेली घर भई धनगढीमा शिवम हार्डवेयर सञ्चालन गरिरहेका एकै परिवारका चार जना बिना चेकजाचँ सशस्त्र प्रहरीसँगको मिलेमतोमा सहजै नेपाल आएका छन् । उनीहरु क्वारेन्टिनमा समेत बसेका छैनन् । यसरी प्रहरीले नै आर्थिक प्रलोभनमा परेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोना भाईरसको जोखिम बढेको हो ।
धनगढी बजारमा ठुला व्यापारी र उद्योगहरुमा काम गर्ने धेरैजसो भारतीय नागरिक रहेका छन् । सशस्त्रका इन्सपेक्टर चैसेरले नेपाली नागरिकता भएकाहरुलाई मात्रै नेपाल प्रवेश गराएको दाबी गरे । उनले भने–‘त्यसरी भारतीय नागरिक पठाएका छैनौ, ईन्ट्री गरेर मात्रै नेपाल प्रवेश दिएका छौ, त्यसरी नेपाल प्रवेश गरेको हामीलाई कुनै जानकारी छैन्, हामीले त्यसरी पठाएका पनि छैनौ ।’ उनले भारतीय नागरिकलाई नेपाल प्रवेश नगराएको बताए ।
उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले हिजो मात्रै गौरिफन्टा नाकामा कञ्चनपुरको टोली खटिएको र त्यसरी भारतीय नागरिकलाई प्रवेश दिन नमिल्ने बताए । उनले भने–‘लुकिछिपी अवैध नाकाबाट आएको खण्डमा कैलाली प्रहरीले हेर्ने हो, गौरिफन्टाबाट त्यसरी प्रवेश गराईएको हामीलाई कुनै जानकारी छैन् ।’ यस्तै त्रिनगर सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्सपेक्टर पुष्पराज शर्माले आफुलाई हिजोदेखि जिम्मेवारीबाट हटाएको र कैलाली प्रवेश गर्ने बेला मात्रै चेकजाचँ गर्ने गरेको बताए ।
उनले भने ‘हाम्रो तर्फबाट त्यसरी प्रवेश दिने भन्ने कुरा हुदैन्, जिम्मेवारी कञ्चपुरबाट खटिएको टोलीको हो, राम्रोसंग हेरिदिनु भनेर आग्रह गरेका छौ ।’ कैलालीको सुरक्षा टोलीले मोहनापुल वारी मात्रै हेर्ने भएको छ । नाका स्थापना भएदेखि नै गौरीफन्टामा कैलालीको सुरक्षा टोली खटिएको थियो । डोकेबजार क्षेत्रमा भारतबाट आएका नागरिकलाई नराख्न र उक्त क्षेत्रमा खटिएको कैलालीको सुरक्षा टोलीलाई फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दवाव दिदै आएको थियो ।