गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई अपांगता भएको भन्दै हाजिर गर्न दिएनन्
2020/08/28, 8:18
 
sadak

डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई शारीरिक रूपमा अशक्त (अपांगता) भएको भन्दै हाजिर गर्न दिएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साताैँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेको थियो । तर, अध्यक्ष ओझाले हाजिर गर्न नदिने भनेपछि ठगुन्ना साढे दुई सातासम्म जोरायल गाउँपालिका जान सकेका छैनन् । उनी यसअघि डडेल्धुराको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । 

अध्यक्षले नआउनु भनेपछि हाजिर हुन नसकेको ठगुन्नाले बताए । सरुवा भएपछि सुरुमा फोन गर्दा अध्यक्षले अहिले नआउनोस्, तपाईंको सरुवा अन्तै मिलाइदिन्छु भनेको ठगुन्नाले बताए । ‘सरुवा भएको धेरै दिन भइसकेको थियो । मैले हाजिर भएन भने मलाई गाह्रो हुन्छ । आउँछु भनेर अध्यक्षलाई केही दिनपछि पुनः फोन गरेँ,’ ठगुन्नाले भने, ‘तर अध्यक्षले हाजिर हुन नदिने भन्दै नआउन चेतावनी दिए ।’

मन्त्रालयले आलितालमा ठगुन्नाको ठाउँमा भोजबहादुर ऐरलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ । गाउँपालिका कार्यालयका अनुसार उनी ४ भदौमा हाजिर भएर ८ भदौमा बिदामा गएका छन् । सरुवा भएकै दिन २५ साउनबाटै बिदामा बसेका ठगुन्ना सरुवा भएको ठाउँमा हाजिर हुन नपाएपछि आलितालमै फर्केका छन् । सरुवा भएर आएका प्रशासकीय अधिकृत बिदामा गएपछि ८ भदौबाट आलितालमै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा काम गरिरहेको ठगुन्नाले बताए ।

‘जोरायल हाजिर हुन दिएनन्, मन्त्रालयले नयाँ ठाउँमा सरुवा पनि गरेको छैन । त्यसैले आलितालबाट रमाना लिएको छैन,’ उनले भने, ‘नयाँ आइसकेकाले यता पनि दुई प्रशासकीय अधिकृत हुने भयौँ ।’ हाजिर हुन नपाएकाले अन्यत्र सरुवा माग्दै मन्त्रालयलाई तीनपटक पत्र पठाइसके पनि सुनुवाइ नभएको ठगुन्नाले बताए । अध्यक्ष ओझाले मन्त्रालयलाई पत्र पठाएर शारीरिक अशक्तताका कारण ठगुन्नाले काम गर्न नसक्ने भन्दै उनको अन्यत्र सरुवा गर्न भनेका छन् । ठगुन्ना शारीरिक रूपमा अपांग भएकाले भौगोलिक रूपमा विकट गाउँपालिकामा कामकाज गर्न नसक्ने पत्रमा उल्लेख छ । ठगुन्ना ढाडसम्बन्धी अपांगता भएका व्यक्ति हुन् ।

1

सरकारले खटाएको जहाँ पनि जान सक्छु : प्रशासकीय अधिकृत ठगुन्ना 
अधिकृत ठगुन्नाले भने सरकारले खटाएको ठाउँमा जहाँ पनि काम गर्न सक्ने बताएका छन् । ‘जोरायलभन्दा विकट आलितालमा दुई वर्ष काम गरेँ, उता काम गर्न नसक्ने भन्ने होइन,’ उनले भने, ‘तर, हाजिर गर्नै नदिने भनेपछि जबर्जस्ती कसरी जानु ?’ शारीरिक रूपमा काम गर्न नसक्ने भनेकोप्रति आफूलाई होच्याइएको महसुस गरेको उनले बताए ।

ओझाले भने शारीरिक रूपमा असक्षमका साथै मन्त्रालयले पनि आफूसँग समन्वय नगरी पठाएकाले प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएको बताए । संविधानले तीनै तहका सरकारबीच समन्वय, सहकार्य गर्नुपर्ने भने पनि प्रशासकीय अधिकृत पठाउँदा मन्त्रालयले आफूसँग कुनै समन्वय नगरेको उनको भनाइ छ । 

जोरायल गाउँपालिकामा अहिले शिक्षातर्फका कर्मचारी तेजबहादुर खत्री निमित्त प्रशासकीय अधिकृत छन् । अध्यक्ष ओझाले खत्रीलाई आफूअनुकूल प्रयोग गर्दै आएकाले नयाँ प्रशासकीय अधिकृतलाई आउन नदिएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार खत्री अध्यक्ष ओझाका आफन्त पनि हुन् । तर, ओझाले भने निमित्त प्रशासकीय अधिकृत आफ्नो नातेदार नरहेको बताए । 

सुदूरपश्चिमका सबै गाउँपालिका निमित्तको भरमा चलिरहेकाले जोरायलमा मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउन आवश्यक नरहेको उनको भनाइ छ । ‘सबै ठाउँमा निमित्त छन्, सुब्बाले चलाइरहेका छन् । जोरायलमा मात्रै किन प्रशासकीय अधिकृत पठाइयो ?’ ओझाले भने । उनी गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पनि हुन् ।