धनगढीमा २२१ जना कोरोना संक्रमित, ४८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन
2020/08/28, 10:39
 
corona

धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय २१ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार धनगढीमा तीन जनामा कोरोना पुष्टिसँगै संक्रमितको संख्या दुई सय २१ पुगेको हो ।  यसमा ४८ जना भने कुनै ट्राभल हिस्ट्री नभेटिएको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । 

धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ । उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत संक्रमित स्थानीय रहेका छन् । बिहीवार तीन जना स्थानीय संक्रमित थपिएसंगै धनगढीमा स्थानीय संक्रमितको संख्या ४८ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

भएकोमा तीन जना नै स्थानीय संक्रमित रहेको खुलेका छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले एक जना बैंकका कर्मचारी, एक जना सरकारी कर्मचारी र एक जना सरकारी कर्मचारीकी छोरीलाई संक्रमण पुष्टि भएको जानकारी दिए । उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले हालसम्म धनगढीका दुई सय २१ जनामा संक्रमण पुष्टि भएको बताउँदै ४८ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए । अहिलेसम्म ट्राभल हिस्ट्री नभएका १२ जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, चार जना शिक्षक र चार जना व्यापारीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै तीन जना बैंकका कर्मचारी, दुई जना चालक, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी, एक जना सरकारी कर्मचारी र एक जना एमआरमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पाँच जना संक्रमित शिक्षिकाका परिवारका सदस्य र चार जना व्यापारीका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ । बाँकी पाँच जना भने सर्वसाधारण हुन् । उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।

नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो । दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो ।