कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण
2020/08/28, 11:06
 
corona

कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

पहिलो पटक भदौ १ गते धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको थियो ।  ती युवक धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका छन् । उनको सम्पर्कमा रहेका बैंकका अन्य ३८ जना कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ । कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरियामा रहेको ग्लोवल आईएमई बैंकका थप तीन जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो ।

डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परीक्षणमा ग्लोबलमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको थियो । यसै साता धनगढीमा रहेको सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । संक्रमित कर्मचारीको घर कञ्चनपुर हो भने उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका थिए । 

बुधवार मात्रै धनगढीमा भएको परीक्षणका क्रममा सिविल बैंकका चार कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाको शाखामा कार्यरत रहेका छन । लम्कीचुहा नगरपालिकाको शाखामा कार्यरत दुई जना र जानकी गाउँपालिकाको शाखामा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । 

बिहिवार भएको परीक्षणमा धनगढीमा रहेको कृषि विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको क्याम्पस चोक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा २९ बर्षीय बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो । उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा बस्दै आएका छन् ।