जोखिम बढ्दै, अलमलमा सुदूरपश्चिम प्रदेश सरकार
2020/05/20, 10:04
 
sima

सुदूरपश्चिममा वैैशाखयता कोरोनाका संक्रमित भेटिएका छैनन् । तर, भारतबाट लुकीछिपी आएकाबाट कोरोनाको जोखिम भने कायमै छ । सीमानाकाबाट औपचारिक रूपमा सबै तथ्यांक राखेर, चेकजाँच गरेर र स्थानीय तहमा क्वारेन्टिनमा राखिएकाबाट जोखिम कम भए पनि लुकीछिपी आएर सीधै घरमा गएका व्यक्तिबाट भने जोखिम बढेको हो ।

दार्चुला र बैतडीबाट मात्रै वैशाखयता तीन सयभन्दा बढी नेपाली महाकाली तरेर लुकीछिपी गाउँ पसेका छन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको केही भागबाहेक भारतसँगको सिमाना महाकाली नदीले विभाजन गर्छ । त्यहाँ हरेक ठाउँमा डुंगाबाट वा पौडी खेलेर नेपाल आउन सक्ने धेरै स्थान छन् । बैतडी, दार्चुला र डडेल्धुरा गरी तीन जिल्लामा पर्ने महाकालीको किनारमा सशस्त्र प्रहरी तैनाथ छ । तर, एक चेकपोस्टदेखि अर्को चेकपोस्टसम्मको दूरी ५ देखि १० किलोमिटरसम्म भएकाले पनि भारतबाट लुकीछिपी आउनेको संख्या बढिरहेको छ ।

सशस्त्र प्रहरीले सम्भावित घाटहरूलाई लक्षित गरेर मात्रै सीमामा तैनाथी गरेको छ । तर, भारतबाट फर्किने नेपालतिर सोधपुछ गरेर सशस्त्र प्रहरी नभएको स्थान रोजेर नेपाल फर्किने गरेका छन् । ‘भारतबाट नदी तरेर फर्किनेका कारण कोरोनाको जोखिम बढेको छ,’ बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने, ‘यसरी लुकीछिपी आउनेहरू क्वारेन्टिनमा बसेका पनि छैनन् ।’ ‘स्थानीय तहका वडाहरूले यसरी भारतबाट आएका व्यक्तिको पहिचान गरी क्वारेन्टिन गर्नुपर्छ,’ उनले थपे, ‘केही स्थानीय तह त व्यवस्थापनमा लागेका पनि छन्, तर केही वडाले लापर्बाही गरिरहेका छन् ।’ 

अलमलमा प्रदेश सरकार
नेपाल र भारतको सीमा खोल्ने अधिकार नभएको प्रदेश सरकार अहिले पनि कोरोना नियन्त्रणका लागि अलमलमै देखिएको छ । दुई महिनाअघि प्रदेश सरकारले गरेको बैतडी र डोटीमा पीसीआर मेसिन सहितको प्रयोगशालाको काम सुरु नै भएको छैन भने प्रदेश मन्त्री परिषद्को बैठकले किनेर ल्याउने भनेका २० थान भेन्टिलेटरको खरिद प्रक्रिया पनि अलमलमा परेको छ ।

अहिले सुदूरपश्चिममा कोरोनाका बिरामी नरहे पनि भारतबाट आउने नेपालीको संख्या बढिरहेको र भारतमा यातायात खुकुलो भएसँगै नेपाल फर्किने ओइरिन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले अहिले ८८ वटा स्थानीय तहमा १० हजार बेडको क्वारेन्टिन रहेको जनाएको छ । तर, त्यसमा आइतबारसम्म १६ सय ९६ जना मात्रै बसिरहका छन् । प्रदेश सरकार एकातिर १० हजार क्षमताका क्वारेन्टिन भएको बताइरहेको छ भने अकोतिर भारतको सीमानाकामा पुगेका नेपालीलाई पनि भित्रिन दिइरहेको छैन ।

अब सिमानामा पुगेका नेपाली र भारतबाट फर्किने नेपालीलाई त्यहीँ रोक्नुको सट्टा प्रदेशमा खाली रहेका क्वारेन्टिनमा राख्नपर्नेमा विज्ञहरू जोड दिइरहेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सीमानाका खोल्ने अधिकार नभएकाले समस्या भएको बताउँछन् । अन्दाजी कति नेपाली फर्र्िकएलान्, कसरी क्वारेन्टिन गर्ने, सीमा नाकामा आरडीटी गर्ने कि पीसीआर, प्रदेश सरकार अन्योलमा छ । ‘१० हजार क्वारेन्टिन बेड छन्, मन्त्री परिषदको बैठकले त्यसलाई २५ हजार बनाउने निर्णय गरिसकेको छ,’ प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘त्यसमा लागेका छौँ ।’ 

परीक्षणको गति सुस्त
सुदूरपश्चिममा दैनिक २ सय ५० जनाको थ्रोट स्वाब टेस्ट गर्न सक्ने क्षमताको पीसीआर मेसिन छ । तर, त्यसको दैनिक टेस्टको अनुपात ३० जनाको हाराहारीमा छन् । चैतमा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि संघ सरकारले धनगढीमा यो क्षमताको नयाँ रियल टाइम पीसीआर मेसिन जडान गरी टेस्ट थालेको हो । २०६८ सालको जनगणनाअनुसार सुदुरपश्चिमको जनसंख्या २५ लाखको हाराहारीमा छ । तर, सोमबारसम्म कोरोना जाँचको संख्या २२ हजार ६ सय ९६ जना मात्रै भएको छ । यसमा पनि १८ हजार ८ सय ५९ त आरडीटी टेस्ट हो । पीसीआर टेस्ट भने ३ हजार ८ सय ३७ जनाको मात्रै गरिएको छ । 

प्रदेश सरकारले दुई वटा भेन्टिलेटर र दुई वटा रियल टाइम पीसीआर मेसिनलगायत उपकरणका लागि चैतमै टेन्डर आह्वान ग¥यो । केही टेन्डर परे । तर, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका उपकरण नभएकाले ती टेन्डर रद्द भए । त्यसपछि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले थप दुई पटक टेन्डर प्रकाशित गरिसकेको छ । ‘तर, मापदण्ड अनुसारका टेन्डर नै पर्दैनन्, उपकरण किन्नमै समस्या भयो,’ सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने । प्रदेशभरिका लागि एक लाख आरडीटी किट संघमा माग गरेको उनले बताए । ‘तर, संघमै पनि पर्याप्त स्वास्थ्य सामग्री छैन, के गर्ने ?’ डा. अवस्थीले भने । संघीय सरकारको भर मात्रै पर्नुभन्दा आफूले प्रदेश सरकारसँग आरडीटी किट खरिदका लागि बजेट माग गरेको अवस्थीले बताए । अन्नपुर्ण सम्पुर्णबाट