समुदायमा फैलिदै कोरोना, ‘ट्रेसिङ’ र ‘टेस्टिङ’ सुस्त
2020/08/28, 8:19
 
corona

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भयो । ती मध्ये १८ जना एउटै टोलका थिए । कतिपय परिवारका सबै सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर, ४ दिनसम्म पनि न कन्ट्रयाक्ट ट्रेसिङ भएको छ न त समुदाय स्तरमा कोरोना फैलियो कि फैलिएन भनेर परीक्षणको दायरा नै बढाइएको छ । समुदायमा संक्रमण फैलन खतरा बढेपछि पुरै वडा सिल गरिएको छ । तर, त्यसपछि पनि ‘ट्रेसिङ’ र ‘टेस्टिङ’ मा भने ध्यान पुगेको छैन । सोही टोलका एक स्थानीयले आत्महत्या गरे । उनका परिवारका अन्य ५ जनामा सोमबार नै संक्रमण पुष्टि भइसकेको थियो । उनको रिपोर्ट भने नेगेटिभ आयो ।

तर, उनको दाहसंस्कारमा परिवारका सदस्यहरू सँगै अन्य व्यक्तिहरू रहेको हुँदा कन्ट्रयाक्ट ट्रेसिङ गरेर परीक्षणको दायरा बढाउनु पर्ने स्थानीय कृष्ण मिश्रले बताए । अहिलेसम्म कन्ट्रयाक्ट ट्रेसिङको काम हुन नसकेको उनले जानकारी दिए । ‘सानो ठाउँमा धेरैलाई संक्रमण पुटि भएको छ । उनीहरु को को सँग सम्पर्कमा आए भन्ने बारे पनि अहिलेसम्म कसैले चासो दिएका छैनन् ।’ मिश्रले भने ‘यसले समुदायमा संक्रमण फैलन खतरा बढेको छ । परीक्षणको दायरा बढाउन पर्छ ।’

कैलालीको घोडाघोडीमा हालसम्म ८९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तो बेला परीक्षणको दायरा बढाउनु पर्नेमा घोडाघोडीमा स्वाब संकलन कार्य नै बन्द भएको छ । नियमित खोप लगाउने कार्यक्रम सुरु भएका कारण ७ गते देखि १२ गतेसम्म स्वाब संकलन कार्य रोकिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए । ‘हामीसँग पर्याप्त लग्जम्बर (स्वाब राख्ने भाँडो) छैन त्यसैले स्वाब संकलन रोकेका हौँ’ उनले भने ‘१२ गते पछि फेरी स्वाब संकलन सुरु हुन्छ ।’

जिल्ला स्वास्थ्य कार्यालयले भने पर्याप्त मात्रामा लक्जम्बर रहेको जनाएको छ । ‘लक्जम्बरको अभाव नहुनु पर्ने हो’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने ‘हामीसँग पर्याप्त लक्जम्बर छ हामीलाई उहाँहरूले माग्नु भएको छैन । ’ घोडाघोडीमा मात्रै होइन बर्दगोरीया गाउँपालिकामा पर्याप्त मात्रामा स्वाब संकलन हुन सकेको छैन । १० दिन अघि मृत्यु भएका बर्दगोरीयामा ४५ बर्षिय एक पुरुषमा ९ गते कोरोना संक्रमण पुष्टि भयो । मृतकको मलामीका करिब १ सय भन्दा बढि सहभागी थिए ।

बर्दगोरीया गाउँपालिकाले भने हालसम्म ४३ जनाको मात्रै स्वाब संकलन गरेको छ । ‘सबैको स्वाब संकलन गर्न सम्भव छैन ।’ स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले भने ‘पहिलो चरणमा संक्रमण देखियो भने थप परीक्षणको दायरा बढाउँछौँ । ’ उनले स्वाब संकलन नगरे पनि सबैलाई सचेत रहन सूचना जारी गरिएको बताए । हाल सम्म बर्दगोरीमा ६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा हालसम्म १५ हजारको स्वाब संकलन भएको छ । ती मध्ये १५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । मृत्यु भएका मध्ये गोदावरी नगरपालिकामा मात्रै ३ जना छन् । कैलालीमा सबैभन्दा धेरै गोरावादीमा ४५९ जना संक्रमित छन् । तर, त्यहाँ पनि समुदाय स्तरमा परीक्षणको दायरा बढ्न सकेको छैन । स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामी किट अभावका कारण ठूलो संख्यामा परीक्षण गर्न नसकिएको बताए । ‘पालिकाहरूले दैनिक ५ सय बढि किट माग गर्छन् तर, हामीले ५० पनि दिन सकेका छैनौँ’ उनले भने ‘त्यही भएर परीक्षणको दायरा बढ्न सकेको छैन ।’