जिल्ला सुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो । सो सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले आदेश जारी गर्नेछन । के उनले निषेधाज्ञा थप्लान् कि हटाउलान् ? यो प्रतिक्षाको विषय बनेको छ ।
कोरोना भाईरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो । लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाईदैन् । औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाईएको छ भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ ।
अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला भित्र प्रवेश गर्न निषेध गरिएको छ । अहिले कैलालीमा कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन् भने भिडभाड र जुलुस गर्न पनि पाईदैन भने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ ।
शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न रोक लगाइएको छ । खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईन्छ ।