मेसीलाई पिएसजी आउन नेयमार र डि मारियाको आग्रह
2020/08/30, 2:07
 
khelkuda

बार्सिलोनाका कप्तान लियोन मेसीले क्लब छाड्ने निर्णय गरेसँगै उनी कुन क्लबमा जालान् भन्ने अड्कलकाजी हुन थालिसकेका छन् । पछिल्लो समयका चर्चाहरूलाई आधार मान्ने हो भने मेसी इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पुग्ने सम्भावना प्रवल छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पनि मेसीलाई भित्र्याउन चाहने क्लब मध्य एक हो । मेसीले सिटी जाने मनसाय बनाए पनि पिएसजीका खेलाडीहरू भने उनलाई मनाउने प्रयास गरिरहेका छन् । पिएसजीका दुई खेलाडीले मेसीलाई पिएसजी आउन आग्रह गरेको खबर बाहिर आएको छ ।

ला पेरिसियनका अनुसार पिएसजीका ब्राजिलियन फरवार्ड नेयमार तथा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले मेसीसँगको टेलिफोन कुराकानीका क्रममा पिएसजी आउन आग्रह गरेका हुन् । 

नेयमार र डि मारिया दुवैले मेसीसँग खेलिसकेको हुनाले पनि उनलाई क्लबमा आउन आग्रह गरेको बताइएको छ । नेयमारले बार्सिलोनामा रहँदा मेसीसँग राम्रो सहकार्य गरेका थिए भने डि मारिया र मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि सँगै खेलिरहेका छन् ।