भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। धौलीगंगा जलविद्युत परियोजनाको बाँध भदौ २० गते राति १२ बजे खोलिने एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जानकारी दिएको छ।
भदौ २० गते राति १२ बजेदेखि २१ गते बेलुकी ६ः४५ बजेसम्म शिल्ट फ्लशिङ्गको कार्य गरिने भएकाले बाँध खुला गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात महाकाली नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले आग्रह गरेका छन्।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।
परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ।