कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आइसियु’ सेवा सुरु भएको छ। प्रतिनिधिसभाअन्र्तगत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताए।
“केही महिनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ”, उनले भने “यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन।” अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। सो अवसरमा उनले थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको शुभारम्भ समेत गरे।
महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा दश शय्याको पु¥याइने बताए। उनले विगत एक महिनामा ४३ जना बिरामी आइसीयु उपचारपछि निको भएर घर फर्किएको जानकारी दिए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर सोही अनुरुप कार्य भइरहेको बताए। “अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहका लागि सबैको सहयोग र समन्वय आवश्यक छ”, उनले भने “आइसीयु सञ्चालनले बिरामीलाई धेरै सहज हुनेछ।”
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताए। “अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ चिकित्सक ल्याउन पहल भइरहेको छ”, उनले भने “चिकित्सकको व्यवस्थापनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार छ।”