संक्रमितको पिडाः सरकार कोरोना पुष्टि गर्छ अनि हराउँछ
2020/09/01, 8:46
 
corona

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा भाद्र ८ गते २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये १८ जना एउटै टोलका थिए । एउटै टोलमा धेरै संक्रमितको संख्या फेला परेपछि गाउँ नै त्रसित बन्यो । टोलमा नगर सरकारले ठुलो संख्यामा संक्रमित त फेला पा¥यो तर न त उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी ग¥यो नत संक्रमितहरुको पुनः परिक्षण नै, ग¥यो त केवल देखावटी गाउँ सिल ।
सरकारको यस्तो लापर्वाही पुर्ण कामले आम नागरिकहरु चिन्तित बनेका त छन नै कोरोना संक्रमितहरु झनै पिडामा छन । सरकारले हचुवाको भरमा कोराना परिक्षण गर्ने तर संक्रमण पुष्टि भएपनि नभए पनि बेवास्ता गर्ने गरेको संक्रमितहरुको गुनासो छ । नगर सरकारले कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भयो । घोडाघोडीका एक संक्रमितले भने, “तत्पश्चात सरकारले नत कन्ट्रयाक्ट ट्रेसिङ ग¥यो नत हामीलाई सम्पर्क नै गरेको छ ।”

संक्रमण पुष्टी भएको १६ दिन पुग्दा समेत नगर सरकारले कुनै चासो र चिन्ता नदेखाएको पिडितहरु बताउँछन । सरकारले कोरोना संक्रमित भन्दै समाजमा चिनाउने तर पछि हराउने गरेको उनीहरुको गुनासो छ । संक्रमितहरुको पुनः स्वाब परिक्षण, सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन र संक्रमितहरुलाई परामर्श दिने बिषयमा सरकार बेखबर बनेकोे उनीहरु बताउँछन ।

‘सरकारले कोरोना संक्रमित भनेर चिनायो, समाजले हामीलाई बसि खान दिएको छैन ।’ अर्का संक्रमितले भने, “हामीले आईसोलेशन अवधि पुरा गरिसकेका छौ तर अव संक्रमण मुक्त भयौ वा अझै संक्रमण कायम छ भन्ने बारेमा हामी अनविज्ञ छौ । सरकारले पुनः स्वाब परिक्षण गर्नु पर्ने हो तर हालसम्म गरेको छैन ।”

सरकारले आफुहरुलाई बेवास्ता गरेको र आईसोलेशन अवधि पुरा गर्दा समेत समाजले बाटोमा हिड्न, कसै संग बोल्न, उपचारको पहुचमा जान तथा अत्यावश्यक समान खरिद गर्न अवरोध गरिरहेको संक्रमितहरुको भनाई छ । आफुहरुको स्वास्थ्य अवस्था बारे पुनः स्वाब परिक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

यता घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत भने स्वाव संकलन भएको १४ दिन पुरा भईसकेकाले संक्रमितको पुनः परिक्षण गर्न आवश्यक नहुने बताउँछन । नगरपालिकासंग भिटीएम (स्वास संकलन गर्ने भाडो) पनि नभएको र स्वास्थ्यका दृष्टिकोणबाट आवश्यक पनि नहुने उनको दाबी छ ।

‘उनीहरु संक्रमित भएपनि १४ दिनपछि सामान्य मानिस जस्तै भईसके ।’ उनले भने,–“अव संक्रमित छौ भन्ने मानिसकता त्यागनुपर्छ । सामान्य मानिस जस्तै चहल पहल तथा कामकाज गर्न सकिन्छ ।”