शुक्लाफाँटामा २५ श्ययाको आइसोलेसन सञ्चालन
2020/09/01, 2:01
 
corona

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ। नगरपालिकाको वडा नम्बर १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो।

कारोना भाइरस सङ्क्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। “पच्चीस शय्याको आइसोेलेसन सञ्चालन गरेका छौँ”, उनले भने, “बिरामीको सङ्ख्याका आधारमा शय्या सङ्ख्या बढाउँदै लैजाने योजना छ।” 

आइसोलेसनमा नगरपालिका क्षेत्रका भारतबाट फर्केका १० कारोना सङ्क्रमितलाई राखिएको छ। आइसोलेसनमा बस्नेलाई दुई छाक खाना र नास्ताको व्यवस्था गरिएको छ। लक्षणविहीन सङ्क्रमितलाई आइसोलेसनमा राखिने र लक्षणसहितका सङ्क्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्था गरिएको स्वास्थ्यकर्मी लोकेन्द्र ऐरले बताए।

नगरपालिकाले यसअघि भारतबाट फर्कनेहरुलाई होम क्वारेन्टिनमा पठाउँदै आएकामा अबदेखि श्रीकृष्ण माध्यमिक विद्यालयमा क्वारेन्टिनको व्यवस्था गरी राख्ने भएको छ। “भारतलगायत अन्य मुलुकबाट फर्कनेहरुलाई सिधै सीमा क्षेत्रबाट क्वारेन्टिनमा राख्छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भने।

भारतलगायत अन्य मुलुकबाट आउनेलाई नगरपालिकाले यसअघि होम क्वारेन्टिनमा पठाउँदै आएको थियो। समुदायमा सङ्क्रमण फैलिने खतरा बढेपछि क्वारेन्टिनको व्यवस्था गरिन लागेको हो। नगरपालिकामा हालसम्म ७१ जना कोरोनाबाट सङ्क्रमित भएका छन्।