कलिलो उमेरमा कृषिमा उदाउँदै पंकज
2020/09/03, 2:07
 
pankaj deuba

सीताराम ओझा- उमेरले २६ बर्ष पुगे पनि झट्ट हेर्दा पंकज देउवालाई आफ्नो काम गरिरहेको होला भनेर प्रायः कसैले पत्याउँदैन होला । भरखरै किशोरावस्था गए जस्तो लाग्ने उनको लवाई खवाई र हिडाई हेर्दा त भरखरै जवानी आउन लागेकोे जस्तो लाग्छ । अझ केटिएम वाईकमा कालो दाह्ीको साथमा हुईकिँदा देख्नेहरुले बुबा आमाले पुल्पुल्याएको छोरो होला भनि हाल्छन ।

1

अधिकांशलाई सम्मान दिने, मौन बस्न रुचाउने र आफ्नै काममा लागिरहेका पंकज देउवाले कृषि कर्म थालेको तीन बर्ष पुग्न लागेको छ । तर उनले तीन दशकदेखि व्यवसायिक कृषिमा लागेकाहरुलाई पछि पारिसकेका छन् । कलिलो उमेरमा पनि परिपक्क रुपमा उनले गरिरहेको कृषि कर्मले उनलाई नसोचेको लाभ दिईरहेको छ ।

2

तीन बर्ष अघि उनले सुरु गरेको कामना एग्रो टुरिज्म फर्म मार्फत मासिक एक हजार लोकल कुखुरा उत्पादन गरिरहेका छन् । त्यसैमा टर्की, कटकनाथ र वटईको पनि व्यवसायिक पालन गरिरहेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फर्ममा उनले लोकल कुखुरा मात्रै होईन मासिक एक सय वटा टर्की, पाँच सय वटा कटकनाथ र एक हजार वटा वटई पनि उत्पादन गर्दै बजारमा दिईरहेका छन् । 

1

उनलाई फर्ममा उत्पादन भएका लोकल कुखुराको माग पुराउनै मुस्किल छ । कुखुरापालन सम्बन्धी कामसँगै उनले त्यससँग सम्बन्धित काममा हात हालिसकेका छन् । सरकारी तथा गैरसरकारी ह्याचरी उद्योगहरुसँग समन्वय गरेर काम गरिरहेका छन् । सँगै सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा लोकल कुखुरा, दाना, चल्ला, औषधीहरु पठाईरहेका छन् भने परामर्श सेवा पनि दिदै आएका छन् । प्रदेशका केही जिल्लाहरुमा आफ्नो पक्कड बनाईसकेका छन् । केही जिल्लामा बनाउन प्रयासरत छन् । 

2

२३ बर्षको उमेरमा उनले कामना एग्रो टुरिज्म फर्म खोल्नका लागि दुई विगाह जमिन भाडामा लिएका थिए । झण्डै ५० लाख लगानी गरेर फर्मको सुरुवात गरेका थिए । उनले फर्ममा अहिलेसम्म कही कतैबाट अनुदान पनि लिएका छैनन् । कुखुरापालनबाट कमाउँदै कृषि व्यवसायलाई विस्तार गरिरहेका छन् ।

1

सुदुरपश्चिममा कृषिको कुन काम गर्दा सफल भईन्छ भन्ने उनलाई राम्रोसँग ज्ञान छ । किनकी उनले यही क्षेत्रमा पाँच बर्ष विताएका थिए । उनी कृषि क्षेत्रमा लाग्नुको पछाडीको कारण पनि त्यही हो । पंकज १९ बर्षको हुँदा उनले मेड्पा कार्यक्रममा काम गर्दै गर्दा रिज्म एफपिका अनुदान सम्बन्धी प्रस्तावना तथा व्यवसायिक योजनाहरु तयार पार्न सिपालु भईसकेका थिए । उद्यमसिलता सम्बन्धी काम गर्नुपर्ने भएकोले उनले त्यसैसँग सम्बन्धित धेरै कामहरु गरे । उद्यमसिलता विकास गर्नका लागि उनी कैलाली कञ्चनपुर र वर्दियाका गाउँ गाउँसम्म पुगे ।

1

विपन्न वर्ग र गरिबीको रेखामुनि रहेकाहरुलाई आत्मनिरभर बनाउन लागे । कृषि क्षेत्रलाई नजिकबाट नियाल्ने र बुझ्ने अवसर पाए । त्यहाँ जागीर गर्ने वेला नै सम्भावना पनि देखे । कृषि क्षेत्रको अनुदान पाउनका लागि लेख्नुपर्ने प्रस्ताव पत्र पनि लेख्न थाले । उनले लेखेका अनुदानका प्रस्ताव पत्रहरुले धेरै जनाले करोडौंको अनुदान पाए पनि ।

1

कृषि समुह, सहकारी तथा उत्पादन र प्रशोधनसँग सम्बन्धित व्यवसायीहरुका लागि अनुदान पाउने प्रस्ताव पत्र लेख्ने काम गर्थे । त्यो लेखे वापत मात्रै उनले राम्रो कमाउँथे पनि । जसका लागि प्रस्ताव पत्र लेखे उनीहरुले अनुदान पाए पनि । ती प्रस्तावनाहरुमा सुदुरपश्चिमका लागि नौला तथा आधुनिक प्रस्तावना तथा व्यवसायिक योजनाहरु हुने गदर्थे । पाँच बर्षसम्म कृषि क्षेत्रमा जागीर गर्दै प्रस्ताव लेखेर बचाएको रकमले नै कृषि उद्यम थालेका हुन् । आफ्नो क्षमता देखाएर राम्रो आम्दानी गरिरहेका उनले केही रकम बचाए । त्यो वेला उनी अरुको जागीरको भरमा थिए तर आज उनी आफै उद्यमी बनेका छन् । करोडौंको कारोवार गरिरहेका छन् । 

1

व्यवसायिक कुखुरापालनसँगै उनी अव नेपालका लोखोन्मुख कुखुरा प्रजातिहरुको पनि पालन गर्ने तयारीमा रहेका छन् । साक्नी, घाटी खुईले, दुम्सी लगायतका प्रजातिहरुको संरक्षण र प्रवद्र्धनका लागि त्यसको पालनको तयारीमा लागिरहेका छन् । सुदुरपश्चिममा नमुना पोल्ट्री फार्मको रुपमा विकास गरी  पंकज त्यसलाई पछ्याउँदै कृषि कार्यहरुलाई बढाउँदै लगिरहेका छन् । कामना एग्रो टुरिज्म फर्म सञ्चालन गर्नुअघि उनले धनगढीको वोराडाँडीमा देवसिंह ठगुन्नासँग मिलेर कुखुरापालन गर्न थालेका थिए । जागीरको क्रममा सिकेको सीपलाई प्रयोग गर्दै व्यवसायिक कुखुरापालन थालेपनि पछि देवसिंहले त्यहाँबाट हात झिके । त्यसपछि उनले कामना फर्मलाई एकलौटी रुपमा चलाउन थालेका हुन् ।

1

उनले गरिरहेको काम देखेर उनलाई सहयोग गर्ने दाताहरु पनि विश्वास गर्न थालेका छन् । छिट्टै उनी युएनडिपीको सहयोगमा तथा स्थानीय तहको समन्वयमा कैलाली कञ्चनपुरका झण्डै दुई सय किसानलाई चल्ला, दाना, औषधी, परामर्श दिने, चल्ला हुर्काउने तालिम सिकाउने र पछि ती किसानहरुबाट उत्पादित लोकल कुखुरालाई बजार सुनिश्चित हुने गरी उनको फर्मले खरिद विक्री गर्नेछ । सो कार्यक्रमबाट मासिक १० हजार कुखुरा उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यसैको दौडधुपमा लागेका अचेल उनी ।

1

व्यवसायिक कुखुरापालनसँगै उनले धनगढीको घुईयाघाटमा माछापालन पनि सुरु गरिरहेका छन् । त्यसैगरी कागति खेतीका लागि पनि उनी जुटिरहेका छन् । कलिलो उमेरमै कृषिका बहुमुखी क्षेत्रमा हात हाल्दै सफलता पाईरहेका पंकजको सफलताको पछाडी उनले गरेको रिसर्च नै हो । उनी कुनै पनि काम गर्नुअघि त्यसको सम्भाव्यता अध्ययन गर्छन् । जेमा राम्रो सम्भावना छन् । त्यो काम गर्छन् । 

4

लामो समयदेखि भईरहेको लकडाउन र कोरोनाका कारण कुखुरापालन व्यवसाय संकटमा परिहेको छ । पंकजले पनि त्यसको मार खेपिरहेका छन् । चल्ला र दाना सुदुरपश्चिम वाहिरबाट मगाउनुपर्छ । सवै पैसा पठाउँदा पनि दाना र चल्ला पाउने स्थिति छैन् । अर्डर वुक गर्ने त कुरै छोडौं पैसा पठाएको धेरै पछि मात्रै चल्ला र दाना सुदुरपश्चिम आईपुग्छ । त्यसपछि मात्रै पहाडी जिल्लातिर पठाईन्छ ।

1

त्यही भएर उनले सुदुरपश्चिम चल्ला उत्पादन गर्ने ह्याचरी र दाना उद्योगको आवश्यकता महसुस गरेका छन् । निजि क्षेत्रभन्दा पनि सरकारी स्तरबाट यसको प्रयास गर्नुपर्ने उनको सुझाव छ । प्रदेश सरकार र स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिईरहेको सुन्ने गरेका उनी यसलाई व्यवहारमा उतार्नुपर्ने बताउँछन् । दाना र ह्याचरी उद्योग सरकारी निजि र किसानहरुको तर्फबाट संयुक्त साझेदारी गरेमा प्रदेशलाई पोल्ट्री क्षेत्रमा आत्मनिरभर बनाउन सकिने सुनौला दिनहरु आउने सपना देखेका छन् पंकजले ।

2

उनका सपनाहरु साकार हुन् । कलिलो उमेरमा कृषि क्षेत्रमा परिपक्क काम गरेर जमिरहेका उनले अझै प्रगति गरुन् ।  

2