मुख्यमन्त्री भट्ट सहितको टोलीद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
2020/09/03, 9:32
 
badi

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले नेपाली सेनाको हेलिकप्टर मार्फत अछाम र बाजुराको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेको छ । मुख्यमन्त्री नेतृत्वको टोली भदौ २ गते राती अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले बगाएर अछामको रामारोशन गाउँपालिकामा भएको मानवीय तथा भौतिक क्षतिको अवस्था बुझ्न बाढी प्रभावित क्षेत्रमा पुगेको हो ।

मुख्यमन्त्री भट्टले बाढी प्रभावित क्षेत्रको अवस्था एकदमै दयनीय भएको बताए । उनले अनुगमनका लागि जान पनि निकै कठिन समस्या भएको बताए । मानवीय तथा भौतिक पीडा खेपिरहेका  ‘यहाँका जनताले अहिले पनि ठुलो सास्ती खेपिरहेका छन । यो ठुलो पिडा हो ।’ मुख्यमन्त्री भट्टले भने– ‘स्थानीय, प्रदेश र संघीय सरकारको क्षमताले भ्याए अनुसारको काम हामी गछौ ।’ उनले प्रदेश सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र घाईतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताए ।

प्रदेश सरकारको मन्त्री परिषद् बैठकबाट यस अघि नै मृतकका परिवारलाई एक लाख दिने निर्णय गरिसकेको उनले बताए । तत्कालका लागि आवश्यक व्यवस्थापनमा लाग्ने र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि एक करोड बजेट मन्त्री परिषद्बाट स्वीकृत गरेको समेत मुख्यमन्त्री भट्टको भनाई छ । 

यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बाढी तथा पहिरो पिडित परिवारका लागि प्रदेश र संघीय सरकारबाट राहत प्रदान गरिने र बढी क्षति भएको क्षेत्रमा गुरुयोजना बनाईने बताए  । यस्तै बाजुराका पनि विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको क्षतिको समेत निरिक्षण गरेको छ ।