नेपालका कराँते खेलाडी जगत सिंह धानुकले अन्तर्राष्ट्रिय इकाता तेन्शिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेको छन् । तेन्सिकाँन सोतोकान कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका धानुकले रजत पदक जितेका हुन् ।
उनले १९ वर्षमुनि उमेर समूहमा रजत जितेका हुन् । सोही स्पर्धामा उनले भारतका हुसेन र उदीपन दासलाई पछि पार्दै रजत पदक जितेका थिए । हुसेन र उदीपन दासले कांस्य पदक जितेका थिए । भारतकै सस्कार शर्माले स्वर्ण पदक जिते । प्रतियोगिताको विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालबाट सहभागी हुने धानुक एक्ला खेलाडी हुन् । उनी सुदूरपश्चिमका खेलाडी हुन् भने धनगढी कराते एकेडेमीमा आवद्ध छन् ।
प्रारम्भदेखि नै एकेडेमीका प्रमुख प्रशिक्षक ललित खत्रीद्वारा प्रशिक्षित धानुक सन् २०१६ मा काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी छनौट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भई नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली कराते महासंघद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी भएका थिए । सो प्रतियोगितामा उनले समुह काता तर्फ कास्य पदक जितेका थिए ।
सुदूरपश्चिम प्रदेशमा आफ्नो स्पर्धामा च्याम्पीयन उनले राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित ५० औँ राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक र ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काता र कुमिते तर्फ दोहोरो कास्य पदक जितेका थिए । तर, नेपालमै आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छनौटको अन्तिम चरणसम्म पुगेर पनि आफ्नो स्थान सुरक्षित गर्न असफल भएका थिए । हाल कोरोना भाइरसको विश्वब्यापी संक्रमणका कारण कराँते प्रतियोगिताहरु आयोजित हुन नसक्दा आयोजकहरुले अनलाईन कराँते प्रतियोगिताको आयोजना गरिरहेका छन् ।