सुदुरपश्चिम प्रदेशमा लकडाउनले ८ लाख विद्यार्थीको पढाई प्रभावित
2020/05/21, 8:22
 
student

जारी लकडाउनले सुदूरपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै ८ लाख विद्यार्थीको पढाई प्रभावित भएको छ । आधारभूत, माध्यमिक, सामुदायिक विद्यालयका साथै प्रारम्भिक बाल विकास केन्द्र तथा सामुदायिक सिकाई केन्द्रमा २०७६ को शैक्षिक सत्रमा ७ लाख ९२ हजार ८४९ बालबालिका भर्ना भएका थिए ।

लकडाउनकाले एसईई परीक्षा दिन नपाएका परीक्षार्थी माथिल्लो कक्षा कसरी प्रवेश गर्ने भन्ने अन्योलमा छन् । द्वन्द्वपिडित परिवारका २१५ र मुक्त कमलरी ५२ बालबालिका सहित कैलालीमा मात्र २ लाख १० हजार ८०० विद्यार्थी नियमित कक्षाको पढाई पूरा गर्न नपाउँदै घरमा बस्न बाध्य भएका छन् । यो संख्या कञ्चनपुरमा १ लाख ४४ हजार ४२९ छ । प्रदेशका १५४ आधारभूत र १०७ माध्यमिक विद्यालयमा अध्ययनरत अधिकांश स्कुले बालबालिकाको पढाई रोकिन पुगेको शिक्षा विकास समन्वय एकाईले बताएको छ । ५५ अपांगतामैत्री विद्यालय रहेको कञ्चनपुरमा अहिले सबै तहका विद्यार्थीको दैनिक पठनपाठन रोकिएको वैजनाथ मावि महेन्द्रनगरका प्राचार्य विष्णुदत्त जोशीले बताए ।

लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि अछाममा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म भर्ना भएका ८८ हजार ६८८ बालबालिकाको पढाइमा असर परेको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लक्ष्मण गिरी बताउँछन् । त्यस्तै दुई हजार ९८९ बालबालिका सहित डोटीमा ७१ हजार ५९ छात्रछात्राको पढाइ रोकिएको छ । डोटीमा प्राविधिक अन्तर्गत ६ मावि, ७ ओटा कलेज तथा एउटा प्राविधिक शिक्षालय रहे पनि हाल सबै बन्द रहेका छन् । यसैगरी २९७ आधारभूत, ८३ निमावि, ७९ मावि तथा २९३ बालविकास केन्द्र रहेको बझाङमा ५१ हजार ६०० तथा २९१ आधारभूत र ७३ माध्यमिक विद्यालय रहेको दार्चुलामा २४९ प्रारम्भिक बालविकास केन्द्र, २७८ आधारभूत तह र ६९ माध्यमिक तह छन् । यस्तै संस्थागत विद्यालय तर्फ १३ आधारभूत तह र चार माध्यमिक तहमा गरी ५१ हजार ५५३ बालबालिकामध्ये अधिकांशको पढाई प्रभावित भएको शिक्षा विकास समन्वय ईकाईले बताएको छ ।

त्यस्तै, बाजुरामा ५० हजार ९४७ र डँडेलधुरामा ४९ हजार बालबालिकाको पढाइ पनि पूरा नहुँदै रोकिन पुगेको छ भने बैतडीमा आधारभूत तहमा ५५ हजार ८६६, मावि तहमा ११ हजार ४२३ तथा बालविकासतर्फ ७ हजार ४८४ सहित ७४ हजार ७७३ विद्यार्थीको पढाइमा बाधा पुगेको सम्बन्धित अधिकारीहरूले बताएको खबर आर्थिक अभियानमा छ ।