नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो 
2020/05/21, 5:51
 
korona

कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेष्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।