शिक्षा इकाई कैलालीमा तालाबन्दी
2020/09/10, 3:32
 
teacher

 शिक्षा विकास तथा समन्वय इकाई कैलालीमा तालाबन्दी गरिएको छ। नेपाल सरकारले उपलब्ध गराउदै आएको शिक्षण सिकाई अनुदानको रकम निकासा नगरेको भन्दै उक्त कोटामा कार्यरत शिक्षकहरूले शिक्षा इकाई प्रमुख बैकुण्ठ सुवेदीको कार्यकक्ष र कार्यालयको मूल गेटमा ताला लगाएका हुन। 

देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिकसत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो। तर, यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको अनुदान शिक्षक समिति कैलालीका संयोजक नन्दराम चौधरीले बताए।

यसअघि आफूहरूले शिक्षा इकाईमार्फत शिक्षा मन्त्रीलाईलाई उक्त विषयमा ज्ञापन पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएकोसमेत उनको भनाइ छ। निजिक्षेत्रलाई कोरोना महामारीको बलाको तलब रोक्न नहुने बताइरहेको सरकार आफैले विधि प्रक्रिया बमोजिम नियुक्त गरिएका शिक्षकहरूको तलब निकासा गरेको छैन। तत्काल आफुहरूको रकम निकासा गरिनुपर्ने अन्यथा आफुहरू अरू विरोधका कार्यक्रम गर्ने  चौधरीले बताए। 

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्द भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो। यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरेको छैन।

आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता वाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने शिक्षकहरुको माग छ। यसै विषयलाई लिएर भदौ २३ गते कञ्चनपुर र २४ गते डडेल्धुरा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा पनि तालाबन्दी गरिएको थियो।