सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको ६४०६ संख्या पुग्यो 
2020/09/11, 3:22
 
corona

कैलाली र कञ्चनपुरका १२ सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । आज थपिएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का चार जना, कञ्चनपुरको महाकाली नगरपालिका ६ का तीन जना, वडा नम्बर ४ का एकजना र कञ्चनपुरको कृष्णपुर नगरपालिकाकै चार जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै डोटीको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । ८६ जनाको कोरोना परीक्षण भएकोमा ४ पुरुष र एक महिला गरी ६  जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जम्मै संक्रमित डोटीको बोगटान फुडसिल गाउँपालिकाका रहेको जानकारी दिए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय ६ पुगेको छ। उनीहरु मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।