सुदूरपश्चिमका झण्डै साढे पाँच हजार जनाले कोरोना जितेका छन् । प्रदेशको राजधानी कैलाली सहितका जिल्लाबाट शनिबारसम्म पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्र सेती प्रादेशिक अस्पतालबाट तीन जना, बझाङबाट दुई र डोटीबाट तीन गरी आठ जना डिस्चार्ज भएका छन । अहिले सम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीबाट एक हजार पाँच सय चार जना डिस्चार्ज भएका छन् ।
डोटीबाट नौँ सय १० जना, अछामबाट आठ सय ९३ जना, कञ्चनपुरबाट छ सय ७४ जना, बाजुराबाट चार सय ४२ जना, बैतडीबाट तीन सय २५ जना, बझाङबाट तीन सय ६६ जना, डडेल्धुराबाट तीन सय १६ जना र दार्चुलाबाट ४५ जना डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिममा शनिबार सम्म ६ हजार चार सय ३४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।