पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । उनको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ । निसर्ग अस्पतालमा उपचार गरिँदा टाउकोको चोटको सिटी स्क्यान सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको हो ।
त्यहाँ पुगेपछि उनको उपचार हुनेछ । त्यहाँ पनि सम्भव हुन सकेन भने उनलाई हेलिकप्टरमा काठमाडौ लैजाने तयारी भएको छ । उनको टाउकोको चोटका कारण केहि चिन्ताजनक अवस्था रहेको बताइएको छ । जसका कारण उनी अझै पनि पुर्ण रुपमा होसमा आएका छैनन् । यदपी मान्छेलाई चिन्ने अवस्थामा पुगेका छन् । निसर्ग अस्पतालको एम्बुलेन्स बिग्रिएकोले महेन्द्रनगरबाट एम्बुलेन्स मगाएर नेपालगञ्ज पठाइएको हो ।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् । कोरोना महामारीका कारण भण्डारी अहिले घरमै थिए । दुर्घटनामा शुक्लाफाटा नगरपालिका १० भण्डारी र उनका भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका हुन । भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक भने फरार रहेका छन् ।
ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । २०१७ डिसेम्बरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन् ।
नेपालले नेदरल्याण्डसंग अगस्टमा खेलेको एकदिवसीय सिरिज अन्तर्गत टिममा रहेका भण्डारीले नेपाल १ रनले विजयी हुँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हासिल गर्ने क्रममा २ विकेट लिएका थिए । नेपाल पुलिस क्लबको लागि नियमित घरेलु क्रिकेट खेल्ने भण्डारीले सन् २०१३ को यु–१९ युथ एसिया कपमा नेपाली अन्डर–१९ टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका थिए ।
डेब्युमा पाकिस्तानसंग २ विकेट लिएका उनले त्यस प्रतियोगितामा कुल ३ खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए ।