क्रिकेटर ललितको स्वास्थ्य अवस्था खतरामुक्तः हात र खुट्टामा शल्यक्रिया आवश्यक
2020/09/14, 11:01
 
accidnet

दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको छ । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए ।

अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँके स्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको छ । ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको हो । ललितका नातेदार फुपाजु रामसिंह खत्रीले ललित खतरा बाहिर रहेको र होस आएको बताएका छन् । ‘दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । ललितको दायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ ।

हातको कुम, एंगल पनि चोट लागेको छ ।’ ‘छाती र टाउकोमा चोट लागेको हुँदा धेरै ठूलो डर थियो । तर अहिले त्यो ठूलो डर टरेको छ । ललितको उपचारमा खटिएका चिकित्सकहरुले अवस्था सामान्य छ भन्नु भएको छ । छाती र टाउको डर अब पहिला जस्तो छैन, भने ।
न्यूरोका चिकित्सकहरु आएपछि थप उपचार हुने उनले बताएका छन् । छाती र टाउको ठूलो समस्या टरेको हुँदा कोहलपूरमै उपचार हुने सम्भावना बढी छ । ‘टाउको र छातीको यहाँ उपचार हुन नसके काठमाडौं लैजान पथ्र्याे होला ।

अब हात र हड्डीको हो । यतै उपचार हुन्छ होला । चिकित्सक आएपछि मात्र थाहा हुने छ’, उनले भने । ललितको उपचारमा उनकै गाउँका डाक्टर सुरेन्द्र भट्ट आएका छन् भने अर्को चिकित्सकको नाम थाहा नभएको खत्रीले जानकारी दिए । ‘होस राम्रो आएको छ । ललितको आज नै भिडियो एक्सर े(अल्ट्रा साउन्ड) गरेपछि विस्तृत जानकारी आउँछ । अहिले अवस्था राम्रो छ । चिन्ता लिनु पर्ने अवस्था छैन’, उनले भने ।

नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका बायाँ हाते तीव्र गतिका बलर ललितले पछिल्लो समय चोटकै कारण राष्ट्रिय टोली बाहिर थिए । ललित घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने गर्दछन् । ललितले सन् २०१७ मा आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरव इमिरेट्र्स (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ललितले सन् २०१८ मा नेदरल्यान्ड्स विरुद्ध ओडिआईमा डेब्यु गर्दै दुई विकेट लिएका थिए । तर चोटका कारण टोलीमा नियमित स्थान बनाउन संघर्ष गर्दै आएका थिए ।