क्रिकेटर ललित भण्डारीको ग्राण्डी अस्पतालमा उपचार, स्वास्थ्य अवस्थामा क्रमिक सुधार 
2020/09/15, 7:57
 
player

दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीको काठमाडौंमा उपचार भईरहेको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भईरहेको हो ।

उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टर मार्फत ग्राण्डी लगिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ ।

भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं लगिएकोे नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका हुन् । मोटरसाइकलको पछाडी बसेका करन ठगुन्ना भने सामान्य घाइते भएका छन् ।

दुर्घटना लगत्तै झलारी स्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए । ठक्कर दिने मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटना लगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन । पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यस अघि उनले नेपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।