क्रिकेटर ललितको उपचार गर्न ट्रक धनीले दिए २ लाख
2020/09/17, 9:05
 
accidnet

मिनी ट्रकको ठक्करबाट आइतबार घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको काठमाडौं स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । उनी चढेको मोटरसाइकललाई ठक्कर दिने ट्रकका मालिक तेजसिंह भाटले तत्कालका लागि उपचार खर्च बापत २ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

ट्रक मालिकले कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दलाई उक्त रकम बुझाएका छन । ‘ट्रक मालिकले हाललाई उपचार खर्च भनेर बुधबार २ लाख रुपैयाँ उपलब्ध गराएका छन्, अध्यक्ष चन्दले भने, ‘सो रकम क्रिकेटर ललितको उपचारमा संलग्न आफन्तले पाउने गरी क्रिकेटका फिजियो विक्रम न्यौपानेको खातामा पठाइसकिएको छ ।’ चन्दका अनुसार ललितको उपचारमा ट्रक मालिकसँग कम्तीमा ५ लाख जति माग गरिएको भए पनि बाँकी रकमबारे पछि छलफल गर्ने बताउँदै हाललाई २ लाख मात्रै उपलब्ध गराएका हुन् ।

क्रिकेटर ललितको ग्रान्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बाँकेको कोहलपुरबाट काठमाडौं लगेदेखि नै उनलाई आईसीयूमा राखेर उपचार भइरहेको उनकी पत्नी ममताले जानकारी दिईन् । उनका अनुसार हात खुट्टामा तीन चार ठाउँंमा फ्याक्चर भएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ ।  

आइतबार साँझ महेन्द्रनगरबाट झलारीतर्फ गइरहेका ललित सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको से १ ख १३२४ नम्बरको मिनी ट्रकले झलारी बजारमै ठक्कर दिएको हो । घाइते ललितलाई धनगढीमा सामान्य उपचारपछि कोहलपुर लगिएको थियो । शल्यक्रिया गर्नुपर्ने भएकाले उनलाई कोहलपुरबाट काठमाडौं लगिएको हो ।