दसैँ अगावै मन्त्रिपरिषद् पुनर्गठनः वामदेव र नारायणकाजी अटाउलान्?
2020/09/20, 10:06
 
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ अगावै मन्त्रिपरिषद पुनर्गगन गर्ने तयारी गरेका छन् । नेकपाका सचिवालय सदस्य झलनाथ खनालले दसैँ अगावै मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना रहेको बताए। 


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ अगावै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । नेकपाका सचिवालय सदस्य झलनाथ खनालले दसैँ अगावै मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना रहेको बताए। 

उनले भने, ‘आजको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका लागि सैद्धान्तिक छलफल भयो, दसैँ अगावै पुनर्गठन हुन सक्छ ।’ 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले नै प्रस्ताव गरेपछि नेकपामा मन्त्रिपरिषद पुनर्गठनको रस्साकस्सी अब औपचारिक रुपमा सुरु भएको छ। 
मन्त्री रहेकाहरु पद जोगाउन र अन्य नेताहरु मन्त्री बन्न शक्तिकेन्द्र धाउन थालेका छन्। 

महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएलगत्तै देखि मन्त्रिपरिषद पुनर्गठनका लागि चलेको अनौपचारिक रस्साकस्सीले अब सचिवालय बैठकमा औपचारिक प्रवेश पाएको हो।

त्यतिबेला प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेर पुनर्गठनको कुनै सम्भावना नरहेकोले ढुक्क भएर मन्त्रालयको काममा ध्यान दिन मन्त्रीहरुलाई निर्देशन दिएका थिए। ‘बाहिरी हल्लामा नलाग्नुस् मन्त्रीमण्डल तत्काल पुनर्गठन हुँदैन, मन्त्रालयका काममा ढुक्क भएर ध्यान दिनुस्’, ओलीले भनेका थिए। 

तर आफैले मन्त्रीहरुलाई दिएको आश्वासन विपरित प्रधानमन्त्री ओलीले आज बसेको पार्टीको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको प्रस्ताव औपचारिक रुपमा पेश गरेका छन्। 

प्रधानमन्त्रीले नै सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि अब मन्त्रिपरिषद पुनर्गठन हुने पक्का भएको छ ।

तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी रहेको नेताहरुले बताएका छन् । नेता खनालले आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारे सैद्धान्तिक छलफल मात्रै भएको बताए। 

उनले सकेसम्म अहिलेका सबै मन्त्रीहरुलाई हटाएर दसैँ भन्दा अघि नै मन्त्रिपरिषद पुनर्गठनको सम्भावना रहेको जानकारी दिए। मन्त्रिपरिषद पुनर्गठनका लागि विभिन्न मापदण्डहरुबारे छलफल भइरहेको उनले बताए। 

आजको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी तीनवटा प्रस्ताव पेश गरेको नेताहरुले जानकारी दिएका छन् ।

यी तीनवटै विकल्पबारे छलफल गरेर निष्कर्षमा पुग्ने र सकेसम्म दसैँ अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भइरहेको हो । 

श्रोतका अनुसार पुनर्गठन हुने मन्त्रिपरिषदमा चुनावमा पराजित भएर पनि राष्ट्रियसभा सदस्य मनोनित भएका नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि महत्वपूर्ण मन्त्रालयसहित अटाउने छन् ।

तर यसबारे अन्तिम टुंगो भने लाग्न सकेको छैन । नेकपाका भित्रैबाट चुनाव हारेका व्यक्तिलाई मन्त्री बनाएर संविधानको उल्लंघन गर्न नहुने तर्क पेश भइरहेको छ । 

नेकपाका प्रभावशाली नेता भीम रावलले संविधानमा चुनाव हारेका व्यक्तिलाई मन्त्री बनाउने आशय कहिँ कतै नरहेको बताए।  संविधानमा उल्लेखित शब्दहरुको गलत कानुनी व्याख्या गर्ने प्रयास भइरहेको उनकोे दाबी छ। 

हुन त नेता भीम रावलसहित पार्टीको विवाद समाधान कार्यदलमा रहेका सबै सदस्यहरुलाई मन्त्री बनाउने तयारी भइरहेको पनि श्रोत बताउँछ । तर रावलले यसबारे आफ्नो कसैसँग छलफल नभएको जिकिर गरेका छन्।