
दिनेश सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न धनगढी आएको नेपाल पत्रकार महासंघको मिसन टोलीले सरोकारवाला निकायसँग छलफल गरेको छ।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुखसहितका सरोकारवाला निकायसँग छलफल गर्दै प्रेस स्वतन्त्रता विरुद्धका घटनामा गम्भीर बन्न सचेत गराएको छ।
मिसन टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराउदै प्रेस स्वतन्त्रता विरुद्धका घटनाप्रती गम्भीर बन्न आग्रह गरेको छ। मुख्यमन्त्री भट्टले स्वतन्त्र पत्रकारिताको रक्षाका लागि प्रदेश सरकारले सधै तत्पर रहेको विश्वास दिलाएका छन्। उनले दिनेश सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमण निन्दनीय भएको बताउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको बताए।

मिसन टोलीमै रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले आज कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिह, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरासँग भेटघाट गरिएको जानकारी दिए। जिल्ला र प्रदेशका सुरक्षा निकायका प्रमुखसँग पत्रकार महासंघका महासचिव रमेश विष्टले दिनेश सञ्चार गृहमा भएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनामा गम्भीर बन्न आग्रह गरेका थिए। जवाफमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले पत्रकारको पेशागत सुरक्षाका लागि स्थानीय प्रशासन प्रतिवद्ध रहेको बताए।
मिसन टोली आज टीकापुर गएको छ। टीकापुरमा कान्तिपुरका पत्रकार गणेश चौधरीमाथि भएको आक्रमणको घटनाकाबारेमा समेत अध्ययन गर्न टोली पूर्वी कैलाली पुगेको हो। मिसन टोलीले काठमाडौँ पुगेर दिनेश सञ्चार गृहमाथि भएको आक्रमण र पत्रकारमाथि कुटपिट सम्बन्धीका अन्य घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरिने जनाएको छ।
मिसन टोलीका सदस्य समेत रहेका महासंघका केन्द्रीय सदस्य विष्टले प्रारम्भीक अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएपनि समय अभावका कारण नसकिएको र काठमाडौँ पुगेर पूर्ण प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए। गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा प्रवेश गरेको एक समूहले सहसम्पादक जनक विष्ट, व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिहमाथि कुटपिट र दुव्र्यवहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीका आधारमा हिरासतमा धनगढीका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचारको विषयलाई लिएर उनीहरुले सञ्चार गृहमै आक्रमण गरेका थिए। सञ्चार गृहमाथि आक्रमण गर्दै पत्रकारलाई कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा आन्दोलन जारी राखेको थियो। प्रहरीले आक्रमण र कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ।