भारत पस्नेको व्यथाः रोगले भन्दा भोकले बढी सताएपछि ‘कालको मुख’मा होमियौँ
2020/09/22, 3:13
 
corona

कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोरोनाको डरले घर फर्किएहरु स्वदेशमा केही रोजगारी नपाएपछि हातमुख जोर्ने समस्या टार्नका लागि महामारीकै बीच फेरि भारततिरै पस्न थालेका हुन् ।

पछिल्लो समय दैनिक ८,९ सय जनाको हाराहारीमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मानिसहरु रोजगारीका लागि भारततर्फ गइरहेको जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरले जनाएको छ । केही समय अगाडि जसरी स्वदेश फर्कनेहरुको भिड हुन्थ्यो अहिले त्यसैगरी पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफन्टाबाट भारत जानेको लर्को लाग्ने गरेको छ। यी दुई नाकामा आजभोलि झोली–झिम्टा सहित आफ्ना लालाबाला बोकेर रोजगारीका लागि भारत पसिरहेका मानिसको भिड देखिन्छ ।

गाउँ–घरमा रोजगारी नपाएपछि परिवार पाल्नकै लागि महामारीकै बेला कामको खोजीमा भारत जानु परेको बझाङको बित्थडचिर गाउँपालिकाका हरिभान बोहरा बताउँछन् । ‘भारतमा कोरोना देखापरेपछि घर आएको थिएँ, ६र७ महिना यत्तिकै बिताएँ, भएभरको पैसा सकियो’, उनले भने, ‘घर खर्च चलाउनै मुस्किल प¥यो, स्वदेशमै रोजगारी नपाउदा कामको खोजीमा भारत जान बाध्य छौँ ।’

स्वदेशमै रोजगारी सृजना हुन नसक्दा जीविकोपार्जन गर्न धौ–धौ परे पछि कामको खोजीमा भारत जानु परेको बैतडीको सिगास गाउँपालिकाका तेज धामीले बताए। ‘६,७ महिना घरमै बिताउँदा पनि सरकारले रोजगारी दिन सकेन ।  काम नपाएपछि  घरखर्च चलाउन गाहे भयो’, उनले भने, ‘रोगले भन्दा पनि भोकले मर्ने स्थिति आयो, त्यसैले परिवार पाल्न कालको मुखमा होमिनु पर्ने बाध्यता छ ।’
भारतमा एक दुई जना संक्रमित भेटिँदा डरले घर फर्किएको सुनाउँदै कञ्चनपुरको बेदकोट नगरपालिका–५ का मोहन जोशीले हजारौँ मानिसको मृत्यु भइरहेको अवस्थामा फेरि भारत जानुपर्ने बाध्यता रहेको गुनासो गरे ।

‘महामारीकै बीचमा पनि परिवार पाल्न भारत जानैपर्ने बाध्यता छ । यस्तो अवस्थामा परदेशिनु हाम्रो रहन होईन बाध्यता हो । हाम्रो यो पीडा सरकारले सुन्दैन’, उनले भने, ‘स्वदेशमै रोजगारी पाए  अहिले नै घर फर्किन तयार छौँ ।’ ‘भोकले भन्दा रोगले मर्नु नै बेस’ भन्दै स्वदेश फर्किएकाहरु पुनः कामको खोजीमा भारत फर्कन लागेका हुन ।

‘६ महिना घरमै हुँदा हामीलाई सरकारले केही त गर्ला, अब  भारत जानु नपर्ला भनेर  सोचेका थियौँ । तर, सरकारले हामीलाई हेरेन’, भीमदत्त नगरपालिका–९ का हिक्मत नाथले भने, ‘गाउँ–घरमा मजदुरी पनि गर्न पनि पाइएन । त्यसैले कामको खोजीमा कालको मुखमा होमिनु परेको छ ।’

रोगभन्दा भोकले मर्ने अवस्था सृजना भएपछि कामको खोजीमा भारत जानुपरेको नवराज जोशी बताउँछन । ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो। केही काम नपाउँदा घर खर्च चलाउनै मुस्किल छ’, उनले भने, ‘सरकारले पनि हामीलाई हेरेन । अब रोगको केही डर छैन, काम गर्न भारत नजाने हो भने त खाना नपाएर भोकभोकै मर्नुपर्छ ।’ भारतबाट फर्किएका युवा जनशक्तिहरुलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन ।

तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ । ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो । तर, सरकारले सीपमूलक रोजगारी सिर्जना गर्न सकेन । सरकारले केही रणनीतिक योजना नै ल्याएन’, उनले भने, ‘त्यसैले महामारीमा दुखकष्ट खेप्दै स्वदेश पुगेका जनशक्ती पुनः त्यहीँ जान बाध्य भएका छन् ।’