विपक्षी खेलाडीलाई थुकेको आरोप लागेका डि मारियालाई चार खेलको प्रतिबन्ध
2020/09/24, 12:56
 
game

फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का विंगर एन्जल डि मारियलाई चार खेलको प्रतिबन्ध लगाइएको छ।

गत १३ सेप्टेम्बरमा लिग वानअन्तर्गत मार्सेलीविरुद्धको खेलमा झगडामा सामेल भएको दश दिनपछि डि मारियालाई प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। 

३२ वर्षीय अर्जेन्टाइन डि मारियाले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई खेलको दौरान थुकेको आरोप लागेको थियो।

दुवै टिमका खेलाडी एकआपसमा झगडामा उत्रिएको सो खेलमा पाँच खेलाडीलाई रातो कार्ड दिएको थियो। तर डि मारियालाई  खेलमा कुनै कार्ड देखाइएको थिएन।

लिग वानले डि मारियालाई थुकेको कारण प्रतिबन्ध लगाएको 'हो वा होइन' स्पष्ट पारेको छैन।

सिजन सुरूअघि पिएसजीका सात खेलाडीलाई कोरोना भाइरस देखिँदा डि मारिया पनि संक्रमित भएका थिए। 

खेलका दौरान पिएसजीका फरवार्ड नेइमारलाई भिडियो रिप्ले हेरेपछि रातो कार्ड देखाउने निर्णय गरिएको थियो। तर रेफ्रीले डि मारियाले थुकेको विषयमा त्यतिबेला रिप्ले हेरेका थिएनन्। 

डि मारियाले सो खेल पूरा समय खेलेका थिए। खेलमा साविक विजेता पिएसजी १–० गोलले पराजित भएको थियो।

रातो कार्ड पाएर मैदान बाहिर निस्कने क्रममा नेइमारले आफूमाथि रंगभेद भएको आरोप लगाएका थिए। नेइमारले मार्सेलीका गोन्जालेजले रंगभेद गरेको कुरा फोर्थ अफिसियललाई जानकारी गराएका थिए। 

पछि समाजिक सञ्जालमा पनि नेइमारले रंगभेदको आरोप दोहोर्‍याएका थिए। तर गोन्जालेजले भने आरोपको खण्डन गरेका थिए।