सुदूरपश्चिमका ५८५५ जनाले कोरोना जिते, सक्रिय संक्रियको संख्या ९६२ पुग्यो 
2020/09/25, 8:30
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिवार कञ्चनपुरका ५, डोटीका दुई र बझाङका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

विभिन्न मितिमा डिस्चार्ज भएका कैलालीका ५७ र बाजुराका नौँ जनालाई पनि बिहिवारको रिपोर्टमा अपडेट गरिएको उनले बताए । योसंगै प्रदेशमा पाँच हजार ८ सय ५५ संक्रमितले कोरोना जितेका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार सात सय ४४ जना निको भएर घर फर्किएका छन् । डोटीका नौँ सय ३६, अछामका नौँ सय १६ र कञ्चनपुरका सात सय २९ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ५१ जना, बझाङका तीन सय ८९, बैतडीका तीन सय २८, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार नाघेको छ तर प्रदेश स्वास्थ्य निर्देशनालयले भने कर्णाली प्रदेशमा भएको परीक्षणको अपडेट नगर्दा संक्रमितको संख्या ६ हजार ८ सय ३० पुगेको जनाएको छ ।

उनीहरु मध्ये १६ जनाको मृत्यु भईसकेको छ । प्रदेशमा संक्रिय संक्रमितको संख्या नौँ सय ६२ रहेको छ । सबैभन्दा बढि कैलालीमा चार सय ७६, डोटीमा एक सय ३२, अछाममा एक सय, बझाङमा ९५, बैतडीमा ७९, कञ्चनपुरमा ३३, दार्चुलामा ३१ र डडेल्धुरामा १६ जना संक्रिय संक्रमित रहेका छन् ।