कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो
2020/09/25, 9:55
 
gauthali

जैविक विविधताले महत्वपूर्ण कैलालीमा ठूलो सङ्ख्यामा पानी गौथली चरा फेला परेका छन्। कैलारी गाउँपालिका–४ स्थित मोहना नदीको बगरमा १० हजार ५५३ सङ्ख्यामा पानी गौथली फेला परेका हुन। नेपालमा संरक्षित क्षेत्रबाहिर धेरै सङ्ख्यामा पानी गौथली फेला परेको यो पहिलोपटक हो।

संरक्षित क्षेत्रमा पनि यति धेरै सङ्ख्यामा पानी गौथली फेलापरेको अभिलेख छैन। मोहना नदीमा देखिएको पानी गौथलीको समूह नेपालमा हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा ठूलो रहेको चराविज्ञ हिरुलाल डङ्गौराले बताए। ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौथली भेटिएका थिएनन्’, उनले भने।

पानी गौथली विश्वव्यापी रुपमा रातो सूचीमा रहेको चरा हुन। यो प्रजाति सङ्कटको नजिक रहेको बताइएको छ। नेपालसहित विश्वको २० देशमा पानी गौथली पाइन्छन्। नेपालमा पहिलोपटक काठमाण्डौं उपत्यकामा पानी गौथली अभिलेख गरिएको थियो। १९ औं शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौथली अभिलेख गर्नुभएको हो।

सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए। त्यसपछि सन २०१२ मा चितवनमै तीन हजार ४६७ देखिएको चराको क्षेत्रमा काम गर्ने संस्था पक्षी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ।

यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा र बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौथली चरा अभिलेख गरिएको थियो। सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदी पाइन्छ।

यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदी, कोशी नदी, दाङको राप्ती, कैलालीको मोहना नदीमा उल्लेख्य रुपमा पाइने गरेको जनाइएको छ। मोहना नदीमा गर्मी याममा बढी र जाडो याममा कम मात्रामा पानी गौथली देखिने गरेको चराविज्ञ डङ्गौराको भनाइ छ।

उहाँले मोहना नदीको भितरिया क्षेत्रमा यो चराको सिकार बढी मात्रामा हुने गरेको बुझिएको उल्लेख गरे। बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथली चरालाई समस्या हुँदै आएको जनाइएको छ।

यसैगरी, चोरी सिकार, ब्रिडिङमा असर लगायतको कारणले यो चरा प्रजाति लोप हुने खतराको नजिक पुगिरहेको बताइन्छ। पानी गौथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइन्छन्। मोहना नदीमा १० हजारको सङ्ख्यामा पानी गौथली फेला पर्नु आफूहरुको लागि पनि ‘सर्पराइज’ भएको बीसीएनका विज्ञ कृष्ण भुसालले बताए।

‘नेपालमा पानी गौथलीको सङ्ख्या नै न्यूनतम् तीन हजारदेखि अधिकतम् पाँच हजारसम्म रहेको छ’, उनले भने। ‘१० हजारको सङ्ख्यामा मोहना नदीमा देखिनु एकदम् म्याक्सिमम र हाम्रो लागि बिग सर्पराइज हो।’ सो झुण्ड अन्य मुलुकबाट आएको हुन सक्ने भुसालको बुझाइ छ। साभार गोरखापत्र अनलाईनबाट ।