सुदूरपश्चिममा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २० पुग्यो 
2020/09/27, 9:00
 
corona

सुदूरपश्चिममा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली अछाम बैतडी र  बझाङका एक एक जना गरी शनिबार चार जनाको कोरोनका कारण ज्यान गएको हो । योसँगै सुदुरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । 

अछाममा शनिबार राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अछाम स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बान्नीगढी जयगढी गाउँपालिका ३ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । अछाम जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले पुष्टि गरे । ‘स्वास्थ्यमा समस्या भएपछि बिहान अस्पताल पु¥याइएको थियो, तर राति ९ बजे उनको मृत्यु भयो,’ उनले भने ।

गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ रहेका उनी सहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो । अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए ।
‘कोरोनाका लक्षण देखिएको संक्रमितको स्वास्थ्य अवस्था गम्भीर थियो,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘राख्न भेन्टिलेटर नहुँदा धनगढी लैजाने तयारी भइरहेको थियो । तर राति नै मृत्यु भइहाल्यो ।’ 

यस्तै भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधि मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए ।

भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए । मृतक बोहोराको शव व्यवस्थापन गरिएको छ । यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको छ ।  उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए ।  उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो । मृतक पुरूष मिर्गाैलाको दीर्घरोगी रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।  बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए ।