सुदूरपश्चिम प्रदेशमा पर्यटनः पूर्वाधारको कमीका कारण फस्टाउन सकेको छैन
2020/09/27, 9:22
 
corona

शेरबहादुर ऐर- सुदूरपश्चिम प्रदेशलाई पर्यटन विकासको राम्रो सम्भावना रहे मानिन्छ । तर, आवश्यक पूर्वाधारको कमीका कारण पर्यटन विकासले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा तराईका दुई तथा पहाडका सात जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, ¥याफ्टिङ, प्याराग्लाईडिङ), ग्रामीण पर्यटन लगायतको पर्यटनको राम्रो सम्भावना रहेको चर्चा हुने गर्दछ । पर्यटन व्यवसायीहरू आवश्यक पूर्वाधारको कमीका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउँछन् । 

सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तहहरू तथा संघीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो रहदै आएको छ । पर्यटन व्यवसायी किशोर खडकाले भने– प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन । तर, प्रदेश सरकारले त्यसमा ध्यान दिएको छैन ।  उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन शिर्षकका नाममा ससाना मन्दिरहरूमा मात्रै बढी बजेट विनियोजन गरिरहेको बताए ।

पर्यटन व्यवसायी खड्काले भने– यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहे पनि पर्यटकलाई खाने बस्ने, यातायात लगायतका सुविधा कसरी पु¥याउने भन्ने चुनौती रहेको छ । सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भूभाग समेटिएको प्रसिद्ध खप्तड रहेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोदावरीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन् ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन्। यस बाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कला संस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन् ।

प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधा सम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन नसकेकोले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन (नाटा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउँछन्।