लकडाउन खुकुलोसँगै पर्यटन स्थलमा चहलपहल
2020/09/27, 9:35
 
tourism

लकडाउन केही खुकुलो भएपछि विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटको संख्या बढ्न थालेको छ । कोरोनाको कारणले बन्द भएको घोडाघोडी ताल क्षेत्र लकडाउन केही खुकुलो भए पछि अवलोकन गर्नेको संख्या बढ्न थालेको हो । कोरोना कहर बीच पनि अहिले दैनिक रूपमा एक सयको हाराहारीमा पर्यटकले घोडाघोडीको अवलोकन गरिरहेका छन् । 

पछिल्लो समय घोडाघोडी तालको पर्यटन प्रवद्र्धन हुन थालेपछि आन्तरिक पर्यटको सख्या वृद्धि हुन थालेको घोडाघोडी संरक्षण तथा जनजागरण मन्च नेपालले जनाएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द भएका घोडाघोडी ताल क्षेत्र असोज १ बाट अवलोकनको लागि खुल्ला गरिएको छ । पर्यटकको लागि घोडाघोडी ताल क्षेत्र असोज १ गते बाट खुल्ला भए पछि अहिले सम्म नौ सय पर्यटकहरूले अवलोकन गरेको घोडाघोडी संरक्षण तथा जनजागरण मन्च नेपालका संरक्षक दिपक शाहले जानकारी दिए । “लकडाउन अघि दैनिक चारदेखि पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरूले अवलोकन गर्ने गरेका थिए । लकडाउन अवधिमा पर्यटक आउने कुरा नै भएन । लकडाउन केही खुकुलो भए पछि घोडाघोडी ताल क्षेत्रमा आन्तरिक पर्यटको संख्या बढ्न थालेको छ” उनले भने । 

घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेको जनाएको छ । घोडाघोडी तालको छेउमा रहेको ओजूवा तालमा पर्यटकका लागि ढुङ्गा र रिसोर्ट संचालन ल्याएपछि पर्यटकको संख्या बढ्न थालेको नगरपालिकाले जनाएको छ ।  विश्व रामसार सूचीमा सूचीकृत नेपालको तालमध्ये कैलालीको घोडाघोडी धार्मिक र पर्यटकीय हिसाबले सुन्दरस्थल मानिन्छ । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन््् । नाम मात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिच्ने गरेको छ । 

चार मिटर औसत गहिरो रहेको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । ताल आसपास रहेका अन्य १३ ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्रका रुपमा रहेको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ । तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् ।

घोडाघोडी घुमघाम गर्न पर्यटकहरूलाई कुनै असुविधा हुदैन । घोडाघोडी तालनजिक सुखड गाउँमा आधुनिक होटेलहरू सञ्चालनमा छन््् । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । यो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन गुरुयोजना तयार गरेको नगरपालिकाले जनाएको छ । 

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित छन् । त्यस्तै रैथाने प्रजातिका माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन् स्थल पनि  घोडाघोडी ताल बनेको छ । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जंगली धानसमेत पाइन्छ । 
घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजाति घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन् ।

सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ । घोडाघोडीमात्र नभइ कैलालीका अन्य पर्यटकीय स्थलमा अहिले आन्तरिक पर्यटकको चहल पहल भइरहेको जनाइएको छ । नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले पर्यटकीय क्षेत्रमा स्थानीय मानिसहरू पिकनीक, अवलोकन गर्न अहिले केही मात्रामा गइरहेका छन्् । उनले लकडाउनका कारण पर्यटन व्यवसायीहरूले ठुलो क्षति व्यहोर्नु परेको बताए । अहिले अन्तराष्ट्रिय पर्यटकभन्दा पनि स्थानीय तथा आन्तरिक पर्यटकलाई भित्र्याउने गरी योजना बन्नुपर्छ’ पर्यटन व्यवसायी किशोर खडकाले भने । 

कैलालीका पर्यटकीय स्थल
कैलाली बढि सामुदायिक वन, तालतलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाती, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो । कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकिय गन्तव्य बनाइरहेका छन््् । जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहदै आएको छ । जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । स्थानीयतहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन् । 

गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निकस्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउँछन्। गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचिमा सुचिकृत घोडाघोडी ताल रहेको छ । नगर प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेको बताए । भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ । तीनवटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्रयाउने नीति लिईने उल्लेख गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा ¥याफटिङलाई जोड दिएको छ । बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रीत गरेको छ । त्यस्तै, कैलारी गाउँपालिकाले बनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोईलही ताल, सामरचौरा गाउमा होमस्टे संचालन र शिव मन्दिर खरेटी गाउँमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ । 
जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरवार, कम्पासे धुरा, रातीपहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ ।