सुदूरपश्चिमका थप ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या त्रिहत्तर सय नाघ्यो
2020/09/27, 7:54
 
corona

कैलालीका ४७ सहित सुदूरपश्चिम प्रदेशका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा  छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि संक्रमण पुष्टि भएको छ। वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ । उता बझाङमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले मष्टा पाँच महिला र १५ पुरुष गरी २० जना, खप्तडछान्ना गाउँपालिकाका दुई पुरुष, तलकोट गाउँपालिकाका एक पुरुष र जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए। प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

डोटीमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार डोटीको बोगटान फुडशिल गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो।

आज ९७ जनामा संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या सात हजार तनि सय नाघेको छ । संक्रमण पुष्टि भएका पाँच हजार नौँ सयले कोरोना जितेका छन् भने २० जनाको मृत्यु भएको छ ।