सुदूरपश्चिमका ६१०१ जनाले जिते कोरोना, कैलालीबाट १८६८ घर फर्किए
2020/09/29, 7:53
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ८२ जना कोरोना संक्रमण मुक्त भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामका ४५, डोटीका तीन, कैलालीका दुई र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

उनका अनुसार विभिन्न मितिमा डिस्चार्ज गरिएका कैलालीका ३१ जनालाई पनि हिजोको रिपोर्टमा अपडेट गरिएको छ । योसंगै प्रदेशमा ६ हजार एक सय एक संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ६८ जना निको भएर घर फर्किएका छन् ।

यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ५० र कञ्चनपुरका सात सय ४२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ५१ जना, बझाङका चार सय २२, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ भने स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयका अनुसार सात हजार एक सय १८ पुगेको छ । 

निर्देशनालय र सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको प्रयोगशाला र प्रदेश बाहिरका विभिन्न प्रयोगशालामा कोरोना पुष्टि भएका झण्डै दुई सय जनालाई आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन् । सुदूरपश्चिममा संक्रमित मृतकको संख्या २१ पुगेको छ।