सुदूरपश्चिममा कोरोनाले २१ जनाको मृत्यु, मृत्यु हुनेमा दुई बर्षकी बालिकादेखि ६५ बर्षका बृद्धसम्म
2020/09/29, 10:41
 
corona

चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो । त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन । दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् । 

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत्यु जेठ १८ गते भएको थियो । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो । आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी दुई बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो । उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो । 

जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भयो । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो । 

असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो । कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो । उनलाई न्यूरो सम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । 

सोही दिन कैलालीका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । जिल्लाको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थिया े। उनमा भने मृत्यु अघि नै कोरोना पुष्टि भएको थियो । धनगढीको नवजिवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो । उनी बस व्यवसायी थिए । असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो ।

क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्यु अघि नै कोरोना पुष्टि भएको थियो । असार १६ गते कोरोना भाईरसको संक्रमणबाट अछाममा पहिलो मृत्यु भयो । चार दिन क्वारेन्टिन बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो । मृतक भारतबाट आएका थिए । साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो । बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो । उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 
साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युको दुई दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । साउन २९ गते अछामका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । रामारोशन गाउँपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी मुटुरोगबाट ग्रसित थिए ।

साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरुषमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो । काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए । अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भयो । भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा ९ दिनपछि कोरोना पुष्टि भएको थियो । 

भदौमा १० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भयो । गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको थियो । धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेकोमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । सुदूरपश्चिममा कोरोना संक्रमितको १४ औँ मृत्यु थियो । 

भदौ ३१ गते सुदूरपश्चिममा कोरोना भाईरसले १५ औँ मृत्यु भयो । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो। भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापी मार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो । 

असोज ८ गते सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भयो । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए । मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो ।

असोज १० गते एकैदिन सुदूरपश्चिमका चार जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भयो । बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष, अछामका ३४ बर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको थियो । भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए ।

यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको हो । उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो । मृतक युवक श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको थियो । ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो । मृतक पुरूष मिर्गाैलाको दीर्घरोगी रहेको अस्पतालले जनाएको थियो । 
यसैगरी बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको शुक्रबार मृत्यु भएको थियो ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको थियो । 

सोही दिन अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको मृत्यु भयो । डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो । उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १० गते जिल्ला अस्पताल लगिएको थियो ।

असोज १२ गते धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भयो । सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भईरहेको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि अर्थात ७ गतेदेखि सेतीमा उपचाररत र्थिइन् । 

कोरोना संक्रमितले गरे आत्महत्या
सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या पनि गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका हुन् । खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन ।

जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टिनमा बस्दै आएका थिए । त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो । कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन ।

आत्महत्यापछि कोरोना पुष्टि
सुदूरपश्चिममा क्वारेन्टिनमै आत्महत्या गरेका थप एक व्यक्तीमा कोरोना पुष्टि भएको थियो । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो । मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो । बडिमालिका नगरपालिका –२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार क्वारेन्टिनमा आत्महत्या गरेका थिए ।

उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए । क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका थप एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो । अछाम घर भएका ४३ बर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ पुगेका थिए । आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थिया े। त्यसपछि उनले क्वारेन्टिनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो ।