सुदुरपश्चिममा कोरोना मिटर बढ्दैः संक्रमण बढेपछि कतै सील, कतै सेवा बन्द
2020/09/30, 6:54
 
corona

सुदूरपश्चिममा कोरोना भाईरसको संक्रमण दर यथावत रहेपछि विभिन्न स्थानीय तह सिल गरिएको छ । केही स्थानीय तहले नगर क्षेत्र सिल गरेका छन् भने केही स्थानीय तहले कार्यालयको सेवा बन्द गरेका छन्। सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ ।

मंगलबार नगरपालिकामा कार्यरत कर्मचारी र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले जानकारी दिए। ससल गरिएको अवधिमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने नगरपालिकाले जनाएको छ ।

उता अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो क्षेत्रलाई एक हप्ताका लागि सिल गरेको छ । गाउँपालिकामा कोराना संक्रमण बढेपछि सोमबार बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकाहरुमा समेत कडा खालको लक्षण देखिएकाले १९ गते साझसम्म सिल गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले बताए । उक्त समयमा सम्पूर्ण कार्यालय, शैक्षिक संस्था, बैंक तथा बित्तिय संस्था र बजार पूर्ण रुपमा बन्द गरिने गाउँपालिकाले जनाएको छ ।

कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलालीको गौरीगंगा नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । मंगलबार विज्ञिप्त जारी गर्दै नगरपालिकाले असोज २० गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ ।

साथै समुदाय स्तरमा कोरोनाको जोखिम कायमै रहेको भन्दै सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेर दैनिक क्रियाकलाप गर्न समेत नगरप्रमुख भिमबहादुर देउवाले आग्रह गरे ।