सुदूरपश्चिममा थप १२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६९० पुग्यो
2020/10/02, 6:45
 
corona

कैलालीका ९१ जना सहित सुदूरपश्चिमका थप एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप एक सय २० जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनरवास र झलारीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रयोगशालामा चार सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो। 

उता दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दुवै जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नम्बर  ३  र सिगास गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका दुईरदुई जना र अछामको चौरपाटी र कमलबजारका एकरएक जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएको थियो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ६ सय ९० पुगेको छ भने ६ हजार दुई सय बढिले कोरोना जितेका छन्। २२ जना संक्रमितको मृत्यु भएको छ।