सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिमका ९ वटै जिल्लामा शुक्रबार सम्म सात हजार ६ सय ४१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सबैभन्दा बढि कैलालीमा दुई हजार पाँच सय बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ भने दार्चुलामा सबैभन्दा कम एक सय ११ जनामा कोरोना पुष्टि भएको छ। तर सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा संक्रमितको संख्या सात हजार चार सय ९५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा प्रदेशभर संक्रमितको संख्या त्यती पुगेको उल्लेख गरिएको छ । सो तथ्याङ्कमा सुदूरपश्चिम घर भएर अन्यत्र बसोबास गर्दै आएका संक्रमितको संख्या उल्लेख नगरिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा संक्रमितको संख्या दुई हजार ६ सय नाघेको छ । कैलालीमा दुई हजार ६ सय ३८ जना संक्रमित छन । उनीहरु मध्ये दुई हजार एक सय १२ जना संक्रमण मुक्त भएका छन ।
यस्तै डोटीमा एक हजार एक सय दुई जना, अछाममा एक हजार ७९ जना, कञ्चनपुरमा आठ सय १९ जना, बझाङमा पाँच सय ४९ जना, बाजुरामा चार सय ५३ जना, बैतडीमा चार सय २० जना, डडेल्धुरामा तीन सय ५७ र दार्चुलामा ९७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये ६ हजार चार सय ७४ जना संक्रमण मुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।