सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सुरु गर्ने पहल
2020/10/03, 6:20
 
korona

सिद्धराज भट्ट, सुदूरपश्चिम: दशकाैपछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ। प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि आज संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तयारी उडानको शुभारम्भ गरे।

मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए। 

प्रदेशका पहाडी जिल्लाको विमानस्थलमा प्राविधिक दृष्टिले उडान सम्भव भए/नभएकोबारे अध्ययन गर्नका लागि मन्त्रालयको एक टोलीसमेत आएको थियो। निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यी तीन जिल्लामा उडान सञ्चालन गर्न लागेको बताइएको छ। केही हप्तादेखि उक्त विमानले नेपालगञ्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जसम्म चार्टर्ड उडान गरिरहेको छ । बैतडी, बझाङ, डोटी जिल्लामा रहेका विमानस्थलको स्तरोन्नतिको काम पूरा भएसँगै  हवाई सेवा शुरु गर्ने पहल भएको हो।

विमानस्थल उद्घाटन गरिएसँगै यहाँका पहाडी जिल्लामा निमियतरूपमा जहाज चल्नेमा यहाँका स्थानीयवासी निकै खुशी भएका छन्। प्रदेशका पहाडी जिल्लामा गम्भीर बिरामी हुने व्यक्तिलाई तत्काल उपचारका लागि चर्को भाडामा हेलिकप्टर अथवा जहाज चार्टर्ड गरेर सुविधा भएका अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यताको अब अन्त्य हुने उनीहरुके विश्वास छ। समयमै उपचार नपाई कतिपयको मृत्युसमेत हुने गरेको अवस्थामा धनगढी विमानस्थलबाट पहाडी जिल्लाका विमानस्थलमा शुरु भएको हवाई सेवाले ठूलो राहत हुने भन्दै स्थानीयवासी खुशी देखिएका हुन्। 

बैतडीको पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले हवाई सेवा शुरु गर्ने पहल हुँदा जनता उत्साहित देखिएको बताउँछन्। “हवाई सेवा शुरु भएमा आकस्मिक काम पर्दा समयमै गन्तव्यमा पुग्न नसकिने समस्याबाट जनता मुक्त हुनेछन्, भण्डारीले भने, “यसबाट व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ।” नेपालगञ्ज विमानस्थलबाट सुदूरपश्चिमको बाजुरा र अछामको कमलबजार विमानस्थलसम्म भने हवाई सेवा सञ्चालन छ।

प्रदेशको महेन्द्रनगर, टीकापुर र दार्चुलाको गोकुलेश्वरमा रहेका विमानस्थल बन्द अवस्थामा छन्। हाल सुदूरपश्चिमको धनगढी विमानस्थलमा मात्रै काठमाडौँ–धनगढी–काठमाडौँ नियमित हवाई सेवा सञ्चालनमा छ। कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गएको चैतदेखि बन्द गरिएको धनगढी विमानस्थलबाट यही असोज पहिलो हप्ताबाट काठमाडौँ–धनगढी–काठमाडौँसम्म हवाई  सेवा पुनः सञ्चालन गरिएको थियो।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले दैनिक काठमाडौँ–धनगढी–काठमाडौँसम्मको हवाई सेवा सञ्चालन गरिरहेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय भने बन्द गरिएको छ। निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउण्टर बन्द गर्नुपरेको जनाइएको छ।

देशभरका नाफा कमाउने १० वटा विमानस्थलमध्ये धनगढी विमानस्थल पनि हो । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ। धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले भने, “महिनामा २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा यो आम्दानी गुमाउनुपरेको छ।”

धनगढी विमानस्थलको स्तरोन्नतिको कार्य केही वर्षदेखि भइरहेको छ। यस क्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ। यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। फायर विल्डिङ (दमकल राख्ने घर) र ओभरहेड ट्याङ्की निर्माणाधीन छ।

विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि  भिओआर÷डिएमइ (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ। यसको परीक्षण हुन भने बाँकी छ। लामो धावनमार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो।