कैलालीका ५१ जनासहित सुदूरपश्चिमका थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ७५ संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५१ सहित ७२ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा पाँच सय ४७ जनाको कोरोना परीक्षण गरिएकोमा १९ महिला र ५३ पुरुष गरी ७२ जनामा संक्रमण देखिएको जानकारी दिए। श्रेष्ठका अनुसार सबैभन्दा बढि धनगढी उपमहानगरपालिकाका ३२ जनामा संक्रमण देखिएको छ।
यस्तै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका पाँच जना, जोशीपुर गाउँपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाका दुई/दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका दुई जना र स्थानीय तह नखुलेका एक जना पनि संक्रमण पुष्टि भएको छ।
यस्तै डडेल्धुरामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले अमरगढी नगरपालिका वडा नम्बर ८ का एक जना र धनुषा घर भएर डडेल्धुरामा बस्दै आएका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ जनाको कोरोना परीक्षण गरिएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनरवास र झलारीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रयोगशालामा चार सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो। उता बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पताल बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ७ सय ६२ पुगेको छ भने ६ हजार दुई सय बढिले कोरोना जितेका छन्। २२ जना संक्रमितको मृत्यु भएको छ।