सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै गएको छ । असोज महिनामा दैनिक संक्रमितको संख्या बढ्दै गएको हो । असोज महिनाको १७ दिनमा मात्रै एक हजार एक सय बढीमा कोरोना पुष्टि भएको छ । असो १ गतेदेखि असोज १७ गतेसम्म सुदुरपश्चिममा एक हजार एक सय तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भदौ मसान्तसम्म सुदुरपश्चिममा ६ हजार ६ सय ५९ जना संक्रमित रहेका थिए । यो संख्या बढेर शनिवारसम्म ७ हजार ७ सय ६४ पुगेको छ । यो कुल परिक्षण गरिएका नमुनाहरुको ९ प्रतिशत हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ सहित प्रदेशमा विभिन्न प्रयोगशाला मार्फत शनिबारसम्म ८५ हजार आठ सय ३० जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा धेरै सेती प्रादेशिक अस्पताल प्रयोगशालाबाट ४५ हजार आठ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ भने डडेल्धुरा अस्पतालमा स्थापना गरिएको प्रयोगशालाबाट १७ हजार दुई सय ७८ जनाको परीक्षण गरिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १६ हजार तीन सय १८, डोटी अस्पतालबाट चार हजार पाँच सय ४५, बझाङ अस्पतालबाट एक हजार २५ र बैतडी अस्पताल प्रयोगशालाबाट छ सय ४९ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नमूना परीक्षण गरिएका मध्ये ९ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । शनिबारसम्म प्रदेशभर सात हजार सात सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै कैलालीमा दुई हजार छ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटीमा एक हजार एक सय दुई जना, अछाममा एक हजार ७९ जना, कञ्चनपुरमा आठ सय ३९ जना, बझाङमा पाँच सय ५० जना, बैतडीमा चार सय २० जना, बाजुरामा चार सय ५३ जना, डडेल्धुरामा तीन सय ३८ जना र दार्चुलामा ९७ जना कोरोना संक्रमित रहेका छन् । संक्रमण पुष्टि भएका ६ हजार पाँच सय १ जनाले कोरोना जितिसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।