सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय दुई जनाको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीका १७ र बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ५, ६ र १५ का एक एक जना, जोशीपुर गाउँपालिकाका ५, चुरे गाउँपालिकाका तीन, गोदावरी नगरपालिकाका दुई जना, गौरीगंगा र टीकापुर नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, पुनरवास नगरपालिकाका र डोटीको केआईसिंह गाउँपालिकाका एक एक जनामा संक्रमण पुष्टि भएको छ ।
बैतडीमा २ जना प्रहरी सहित थप ५ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, पाटन नगरपालिका वडा नम्वर ५ का एक जना र मेलौली नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
पाटन नगरपालिका ५ का कोरोना संक्रमित पुरुष नेपाली सेनामा कार्यरत हुन । जिल्ला प्रहरी कार्यालयका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यस्तै मेलौली नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीका दुई हजार ६ सय ७०, डोटीका एक हजार एक सय सात, अछामका एक हजार ८१, कञ्चनपुरका ८ सय ७३ र बाजुराका ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बझाङका पाँच सय ९५, बैतडीका चार सय २४, डडेल्धुराका तीन सय ५ट र दार्चुलाका एक सय १२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका झण्डै ६ हजार ६ सयले कोरोना जितेका छन् । २३ जना संक्रमितको मृत्यु भएको छ ।