कैलालीका २२ सहित सुदूरपश्चिम प्रदेशमा मंगलवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।vसेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चार सय ७८ जनाको कोरोना परीक्षण भएकोमा २३ जनामा संक्रमण पुष्टि भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १ र ३ का पाँच÷पाँच जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर ५ र १६ का एक/एक जनामा संक्रमण पुष्टि भएको उनले बताए। bलम्की चुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका दुई जना र कञ्चनपुरको बेलौरीका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार सेती प्रादेशिक अस्पतालमा अहिले ८ महिला र १४ पुरुष गरी २२ जना संक्रमितको उपचार भईरहेको छ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८४ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ८१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीका दुई हजार ६ सय ९२, डोटीका एक हजार एक सय सात, अछामका एक हजार ८१, कञ्चनपुरका ८ सय ७४ र बाजुराका ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै बझाङका पाँच सय ९५, बैतडीका चार सय २४, डडेल्धुराका तीन सय ६० र दार्चुलाका एक सय १२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ६ हजार ६ सयले कोरोना जितेका छन्। २३ जना संक्रमितको मृत्यु भएको छ।